कोशीमा कृष्ण सिटौला निर्वाचित

विवेक विवश रेग्मी ११ माघ २०८० १७:४३
24
SHARES
कोशीमा कृष्ण सिटौला निर्वाचित

इटहरी– राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन्। कोशीमा १३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए। सिटौलाले स्थानीय तहका प्रमुख-उपप्रमुखबाट १०९ जनाको मत प्राप्त गरे भने प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मत हालेका थिए। सिटौलाले ५२९२ मत भार प्राप्त गरेका थिए भने  प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौड्यालले ४५६२ मतभार पाएका छन्। पौड्याललाई भने ४७ जना प्रदेशसभा सदस्यले मत हालेका छन्।

कोशी प्रदेशसभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन्। दुई प्रदेशसभा सदस्यले फ्लोर क्रस गरे पनि सिटौला विजयी भएका हुन्। महिलामा गठबन्धनकी उम्मेदवार कार्कीलाई हराउँदै एमालेकी कोइराला निर्वाचित भइसकेकी छन्।

कोशीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।  महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको थियो।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। त्यसलगत्तै भएको मतगणनामा सिटौला निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिटौलालाई राष्ट्रियसभा अध्यक्षकै रूपमा हेरिएको छ। फागुन २० गते राष्ट्रियसभा अध्यक्षसहित २० सदस्यको पदावधि सकिँदैछ। रिक्त पद पूर्तिका लागि आज २० मध्ये १९ पद टुंगो लगाउन निर्वाचन भएको थियो।

प्रकाशित: ११ माघ २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =