आहारारा गोल्डकप : आर्मीको विजयी सुरुआत

हिमाल प्रेस १० माघ २०८० २०:१४
20
SHARES
आहारारा गोल्डकप : आर्मीको विजयी सुरुआत

पोखरा- पोखरा रंगशालामा नेपाल आर्मी ‘अभागी’ टिमजस्तै हो। सहारा क्लब पोखराले आयोजना गरेको फुटबल प्रतियोगितामा उसको सहभागिता २०६० सालदेखि छ। १५ पटकसम्म आहारारा खेल्न आएको आर्मी चार पटकसम्म फाइनल पुगेर पनि उपाधि चुम्न वञ्चित छ। यसपालि उपाधिको खोजीमा राइजिङ स्टार क्लब, नवलपुरलाई हराएर विजयी यात्रा सुरुआत गरेको छ।

मंगलबारदेखि सुरु २३ औं आहा रारा पोखरा गोल्डकपको बुधबार दोस्रो प्रिक्वार्टरफाइनलमा कप्तान भरत खवासको निर्णायक गोल मद्दतमा क्वार्टरफाइनल प्रवेश गरेको छ। खेलको २७ औं मिनेटमा क्रस बललाई डाइभिङ गर्दै भरतले पोस्टको दिशा दिएका हुन्। अन्ततः ९० मिनेटसम्म सोही गोल निर्णायक बन्यो। भरत नै म्यान अफ दी म्याच घोषित भए।

विभागीय त्रिभुवन आर्मी क्लब यसपालि अधिकांश युवा खेलाडीसहित पोखरा आएको छ। खेलको नवौं मिनेटमा उसले अग्रता लिने अवसर खेर फालेको थियो। विपक्षी खेलाडी बिट भइसकेको अवस्थामा जिलेस्पीजंग कार्कीले सुन्दर बललाई जाली चुमाउन सकेनन्। १३ औं मिनेटमा भरत चौधरीको पासमा कप्तान खवासले पेनाल्टी बक्सबाट गरेको हेडमार्फतको प्रहार बाहिरिएको थियो।

पहिलो हाफ १-० गोलअन्तरमा सकिएको दोस्रो हाफमा राइजिङ बराबरी खेल्ने कोसिस खेर गयो। ५८ औं मिनेटमा रुपेश केसीले प्रहार गरेको बल विपक्षी गोलकिपर समित श्रेष्ठले पञ्च गर्दै जोगाए। आर्मीले अब १४ माघमा साविक विजेता संकटाको सामना गर्नेछ। अघिल्लो संस्करणमा आर्मीलाई क्वार्टरफाइनलमा संकटाले नै हराएको थियो। यसपालि उसको लागि बदला लिने अवसर पनि हुनेछ।

बिहीबार तेस्रो प्रिक्वार्टरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

यसअघि उद्घाटन खेल जित्दै थ्री स्टार क्लब अन्तिम ८ मा प्रवेश गरिसकेको छ। पाँचौं पटकसम्मको विजेता थ्री स्टारले आयोजकलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

बचत रकम सहारा एकेडेमीमा खर्च गरिने छ। पोखराको दोबिल्लामा संचालित एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन्। प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। फाइनल २० माघमा हुनेछ।

प्रकाशित: १० माघ २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =