वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लैजाने तयारी

हिमाल प्रेस ९ माघ २०८० २१:०५
274
SHARES
वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लैजाने तयारी

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (मंगलबार)को बैठकमा मन्त्री किरातीले उक्त कुरा बताएका हुन्। ‘निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ, ’ उनले भने,  ‘करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ। छिट्टै यस विषयमा निर्णय हुनेछ।’

मन्त्री किरातीले आवश्यक अध्ययन र सरोकारवालाको सुझावका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गरे। उनले विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राखे।

पर्यटनमन्त्री किरातीले वायुसेवा निगम अहिलेकै अवस्थामा सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रालय पुगेको भन्दै निगमलाई नयाँ ढंगले संरचनागत सुधार गरेर लैजाने योजना बनाइएको जानकारी दिए।

सांसद प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरिनुपर्ने धारणा राख्दै आवश्यक अध्ययन गरेर मात्रै विमानस्थल निर्माण गरिनुपर्ने बताए। सांसद उदयशमशेर जबराले निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुका साथै नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन जरुरी भएको उल्लेख गरे।

सांसद शिशिर खनालले निगमको जहाज बारम्बार ग्राउण्डेड हुने गरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन आग्रह गरे।

तीन जहाज खरिद गरिने

पर्यटनमन्त्री किरातीका अनुसार निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि तीन थान ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। आन्तरिक उडानका लागि तीन थान एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन थान न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए। निगमसँग हाल आन्तरिक उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन्।

निगम र विमानस्थल सुधारको प्रतिवेदन पेस गर्न निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले वायुसेवा निगम र विमानस्थल सुधारबारे हालसम्म भएका अध्ययन र प्रयाससहितको प्रतिवेदन समितिसमक्ष पेस गर्न निर्देशन दिएको छ।

समितिका सभापति राजकिशोर यादवले निगम तथा विमानस्थलको सुधारलगायत समग्र विषयमा के कस्ता अध्ययन/अनुसन्धान भएका छन्। तिनको प्रतिवेदन समितिमा पेस गर्न पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या तथा प्राविधिक विषयका सम्बन्धमा पर्यटनमन्त्री, सचिव र निगमका कार्यकारी अध्यक्षसँग छलफल भएको छ।

निजगढ विमानस्थल निर्माणमा जोड

पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेको भन्दै चाँडो निर्माण प्रक्रिया अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराए। उनले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको भन्दै निजगढ विमानस्थल उपयुक्त भएकाले यसको निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे। रासस

प्रकाशित: ९ माघ २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =