गण्डकी : गठबन्धन ढुक्क, एमाले आशावादी

विजय नेपाल ९ माघ २०८० १०:५७
6
SHARES
गण्डकी : गठबन्धन ढुक्क, एमाले आशावादी

पोखरा– राष्ट्रियसभा निर्वाचनका लागि दलहरूले प्रचारप्रसार सकेका छन्। निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा चुनावअन्तर्गत गण्डकी प्रदेशमा तीन सिट (महिला, अपांग र अन्य) का लागि बिहीबार मतदान हुँदैछ। मतदानको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। चुनावमा सत्ता गठबन्धन एकतिर छ भने प्रतिपक्षी एमाले एक्लै मैदानमा छ।

गठबन्धनका उम्मेदवार चुनाव जित्नेमा बढी आशावादी देखिएका छन्। ‘सिर्सेकोटमा मेरा श्रीमान्‌को द्वन्द्वकालमा हत्या भएको थियो। तसर्थ मेरो यस ठाउँसँग विशेष सम्बन्ध छ’, राष्ट्रियसभा सदस्य चुनाव प्रचारका क्रममा हालै स्याङ्जा पुगेकी सत्ता गठबन्धन उम्मेदवार मनरूपा शर्मा मतदातासँग ‘सेन्टिमेन्ट’ सुनाइन्।

पर्वत कुस्मा-१० की माओवादीकी मनरूपा २०६४ सालको चुनावमा संविधानसभा सदस्य चुनावमा उम्मेदवार बने पनि कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतान्तरमा पराजित भएकी थिइन्। २०६० सालदेखि पार्टी र संगठनका विभिन्न जिम्मेवारीमा रहँदै आएकी उनी हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक पनि हुन्। ४६ वर्षीया शर्माको यसअघि सांसद पटकपटकको चाहनामा तुसारापात हुँदै आएको छ।

उनी आगामी ११ माघ हुने राष्ट्रियसभा सदस्य चुनावमा जित सुनिश्चित छिन्। मनोनयनको दिन पुस २३ साँझमा पनि सत्ता गठबन्धनका प्रदेशस्तरमा नेतृत्व तहका नेताहरूबीच केन्द्रीय तहमा झैँ गठबन्धनको मर्म र भावनाअनुरूप साझा उम्मेदवारलाई मतदान गर्ने सहमति भएको थियो। सहमतिमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी केन्दका्र अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादीका कावा अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष शंकर बराल र नेपाल समाजवादी पार्टीका अध्यक्ष किरण थापाले हस्तक्षर गरेका छन्।

मतदाता विश्वस्त पार्न माघ २ देखि गठबन्धनका उम्मेदवारसहित प्रचार टोलीले जिल्ला भ्रमण गरेको थियो। पहिलो दिन नवलपुर पुगेको उम्मेदवार टोलीले गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वत सदरमुकाम पुगेर मतदातासँग भेटघाट गरिसकेको कांग्रेस सभापति शुक्रराज शर्माले बताए।

प्रतिस्पर्धी दल नेकपा (एमाले) झिनो आशाबीच चुनाव जित्न मतदाता भेटघाट केन्द्रित भएको थियो। उम्मदेवारसहित म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपुर, तनहुँ, लमजुङमा मतदाता भेटघाट गरिसकेको एमालेले हिमालपारिका जिल्ला मनाङ, मुस्ताङका मतदातालाई पोखरामै भेटेको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिए।

अंकगणित हेर्दा जिल्ला अध्यक्ष शर्मा आफैँ जितिहालिन्छ भन्नेमा ढुक्क छैनन्। उनी भन्छन्, ‘अन्तिम समयसम्म केन्द्रीय लेभलमा नेताहरूबीच केही सहमति भयो भने सम्भावना देखिन्छ। आस मार्नु भएन नि।’

गण्डकीका ८५ पालिकामध्ये मुस्ताङ, म्याग्दी, कास्कीमा पालिस्तरमा एमाले बलियो छ। ८५ पालिकामा ३५ पालिका जितेको एमालेको ६० सदस्यीय प्रदेशसभामा २२ सिट सुरक्षित छ।

गण्डकीमा रिक्त तीन सिटमध्ये गठबन्धनको भागबण्डामा माओवादीलाई एक सिट परेको हो। कांग्रेसल दुई सिट लिएको हो। माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङले जितमा कुनै शंकै नरहेको दाबी गर्छिन्।

‘हामी गठबन्धनका दलबीच एक चरणमा सामूहिक छलफल भएको हो,’ उनले भनिन्, ‘अहिले जिल्लाजिल्लामा उम्मेदवार जानुभएको छ। मतदानका बेलामा कतिपय मत बदर पनि हुन सक्छ, त्यसमा सचेत हुँदै चुनाव कसरी निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सकिन्छ भन्नेमात्रै हो। यताउति खास त्यस्तो समस्या छैन। मतदानको दिनमात्र कुरेर बसेका छौँ।’

को-को छन् उम्मेदवार ?

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकीमा चार दलबाट आठजनाको मनोनयन दर्ता भएको छ। राजनीतिक समीकरण फेरबदल नभए कांग्रेस–माओवादीसहितको गठबन्धनका तीन उम्मेदवार ११ माघको मतदानपछि माथिल्लो सदन छिर्नेछन्।

गत पुस २३ मा भएको मनोनयनमा गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गराएका हुन्। तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन्।

एमालेबाट अन्य क्लष्स्रतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन्।

राप्रपाले अपांगताबाहेक अन्य दुई सिटमा मनोनयन दिएको छ। कास्कीका राप्रपा नेता रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठले महिला क्लस्टरबाट मनोनयन दिएकी हुन्।

जित सुनिश्चित बनेका गठबन्धनका उम्मेदवार किरणबाबु श्रेष्ठ कांग्रेस गण्डकी महामन्त्री हुन्। उनको प्रस्तावक गण्डकीका मुख्यमन्त्री पाण्डे र समर्थकमा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री (माओवादी नेत्री) सुशीला सिम्खडा छन्। अपांगताबाट टिकट पाएका पदमबहादुर लामो समय अपांगता भएका व्यक्तिको हकहितमा क्षेत्रमा कार्यरत छन्। उनले सीबीआर नेटवर्कका संयोजक भएर काम गरेका छन्। उनको प्रस्तावक कल्पना तिवारी र समर्थक कुसुम बुढा पुन हुन्। सहिदपत्नी मनरूपाको प्रस्तावक माओवादीका हरिबहादुर चुमान र समर्थक कांग्रेसका बिन्दुकुमार थापा छन्।

यस्तो छ, अंकगणित

गण्डकीबाट कुल दुई सय ३० जना मतदाता छन्। तीमध्ये ६० सदस्यीय प्रदेशसभा (सदस्य) बाट ६० र ८५ पालिकाका (प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन्। गण्डकीमा एक महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्। निर्वाचन आयोगले प्रदेशसभाको सांसदको मतभार ५३ र पालिकातर्फ  मतभार १९ तोकेको छ। यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार चार सय १० हुन आउँछ।

कांग्रेसको प्रदेशसभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार दुई हजार सात सय चार मतभार हुन आउँछ।

सत्तारुढ दल माओवादी केन्द्रको संसद्‌मा सिट सिट र पालिकातर्फ ३० गरी कुल मतभार नौ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको पालिकातर्फका गरी ५७ मतभार छ। उसको संसद्‌मा उपस्थिति छैन। एकीकृत समाजवादीको संसद्‌मा एक र पालिकामा एक गरी मतभार ७२ छ।

एमालेको प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ। उसको मतभार यहाँ एक हजार एक सय ६६ र पालिकातर्फ ६८ को मतभार एक हजार दुई सय ९२ गरी कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ। तर एमालेबाट ढोरपाटनको मेयर जितेका देवकुमार नेपाली सहकारी ठगीकाण्डका कारण बेपत्ता छन्। उनको अनुपस्थिति भए एमालेको मतभार घटेर दुई हजार चार सय ३९ मात्र हुनेछ। प्रदेशसभामा दुई सिट जितेको राप्रपाको एक सय ६ मतभार कायम छ।

यसरी हेर्दा गठबन्धनको कुल मतभार तीन हजार आठ सय २७ हुनेछ भने निकटतम् प्रतिस्पर्धी दल एमालेको दुई हजार चार सय ३९ मतभार छ। मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन्।

निर्वाचन तयारी अन्तिम चरणमा

गण्डकी प्रदेशमा निर्वाचनका लागि अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा हुने व्यवस्था मिलाइएको छ। निर्वाचन कार्यालयका सूचना अधिकृत रुद्रप्रसाद न्यौपानेले कर्मचारी खटनपटन तथा निर्वाचन सामग्री पनि बुझाइसकिएको बताए।

मंगलबारसम्म उनीहरूको अभिमुखीकरण पनि सकिने उनको भनाइ छ। मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ। तीमध्ये एउटा केन्द्रमा नौ जना खटिनेछन्। जसमा निर्वाचन अधिकृत एक, मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, कर्मचारी चार, सहयोगी दुईजना हुनेछन्। चुनावका लागि गण्डकीमा जिल्ला न्यायाधीश ऋषिराम आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

प्रकाशित: ९ माघ २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =