इजरायल-प्यालेस्टिन द्वन्द्व

के चाहन्छ इरान?

हिमाल प्रेस ७ माघ २०८० ११:५४
28
SHARES
के चाहन्छ इरान? दक्षिणी इरानमा सैन्य अभ्यासका क्रममा मिसाइल प्रक्षेपण गरिएको यो तस्बिर इरानी सेनाले शुक्रबार सार्वजनिक गरेको हो। तस्बिर : एपी/रासस

गत जनवरी ११ मा इरानले ओमानी समुद्री तटमा एउटा पानीजहाज नियन्त्रणमा लियो। तेल बोकेको पानीजहाज नियन्त्रणमा लिन इरानी स्थलसेनाका जवान हेलिकप्टरबाट ओर्लिएका थिए। इरानले किन यसो गर्‍यो? सायद यस्तो सन्देश दिन, ‘खाडीमा इरानको सान्दर्भिकता सकिएको छैन।’

केही दिनपछि इरानकै अर्को सैन्य संगठनले तुजुक देखायो। रिभोल्युसनरी गार्डले छिमेकी इराकको भूमिमा क्षेप्यास्त्र प्रहार गर्‍यो। उत्तरी इराकी सहर इर्बिलको आकाश उज्यालो बनाएका क्षेप्यास्त्रले यस्तो सैन्य शिविरमाथि हमला गरेको दाबी गरियो, जहाँ इजरायलको सहयोगमा जासुसी केन्द्र सञ्चालनमा थियो।

अमेरिकाले यी दुवै घटनाको विरोध गर्‍यो। इरानी हर्कतका कारण इर्बिलमा रहेको आफ्नो महावाणिज्यदूतावास खतरामा परेको अमेरिकी भनाइ थियो। अमेरिकाबाट जेजस्तो प्रतिक्रिया आए पनि इरानभित्र वास्ता गरिएन। बरु गाजामाथि निरन्तर सैन्य कारबाही चलाइरहेको इजरायललाई ‘सन्देश दिन सकिएकोमा’ इरान मख्ख पर्‍यो। इजरायललाई मात्र होइन इरानको सन्देश अमेरिकालाई पनि थियो। अनि खाडीकै अन्य शक्तिलाई पनि।

‘इरानको पछिल्लो गतिविधि गाजामा चल्दै गरेको युद्धसँग जोडिएको छ। इरान आफ्नो शक्ति प्रदर्शन गर्ने धुनमा छ, ताकि इजरायल झसंग होस्। इरानले इजरायलसँग भिड्न सक्षम रहेको सन्देश पनि दिन चाहिरहेको छ,’ इरान मामिलाका विज्ञ सैयद लेलाजले फाइनान्सियल टाइम्ससँग भनेका छन्।

गाजामा एक सय दिनयता युद्ध चलिरहेको छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा इजरायलले गाजा ध्वस्त बनाएको छ। युद्धको परकम्पन पूरै खाडीमा महसुस गरिँदैछ। गाजा युद्धपछि इरानले पहिलोपटक सैन्य शक्ति देखाएको हो।

गाजामा युद्ध सुरु हुनासाथै खाडीमा प्रश्न उठेको थियो, अब इरानले के गर्छ? इजरायल आफैँमा त्रसित थियो, कतै इरानले सैन्य प्रतिक्रिया त जनाउने होइन? यही डर अमेरिकासँगै पश्चिमा अनि खाडीका अरू देशमा पनि थियो। हमासले उत्तरी इजरायलमा हमला गरेको केही दिनपछि अमेरिकी राष्ट्रपति जो बाइडनले इरानलाई चेतावनी दिएका थिए, ‘कुनै हालतमा उपद्रो नगर्नू।’ बाइडन त्यतिमा रोकिएनन्, तत्काल खाडी क्षेत्रमा अमेरिकी नेभीको गस्ती बढाए।

यसबीचमा इरानले इजरायलको चर्को आलोचना गरेको छ। हमाससँग आफू उभिएको जनाउ दिएको छ। सँगसँगै गाजामा चलिरहेको द्वन्द्वले क्षेत्रीय युद्धको रूप नलिओस् भन्ने चाहना आफ्नो रहेको प्रस्ट पारेको छ। भलै इरानका समर्थक लडाकु संगठन भने इजरायलविरुद्ध परिचालित छन्। लेबनान, सिरिया, यमन र इराकबाट यी संगठनले इजरायली र अमेरिकी सेना तथा ‘रेड सी’ हुँदै पूर्वीएसियातिर लाग्ने पानीजहाजमाथि हमला गरिरहेका छन्।

उसो त गाजामा युद्ध सुरु भएको निकै समय बितिसक्दा पनि इरानले देखिने गरी गतिविधि गरेको थिएन। जब इजरायल र अमेरिकाको जासुुसी हमलामा इरानी र इरानसँग निकटमा रहेकाहरू मारिने थाले, तब इरान प्रत्याक्रमणमा उत्रिएको हो। गत डिसेम्बरको अन्तिम साता रिभोल्युसनरी गार्डका एक कमान्डर मारिएका थिए। सिरियामा रहेका उनलाई इजराली वायुसेनाले निसानामा पारेको थियो।

अर्को साता बेरुतमा हमासका राजनीतिक उपप्रमुख बम विस्फोटमा परे। सालेह अल अरौरीको हत्या गर्न यस्तो ठाउँमा बम पड्काइयो, जुन लेबनानको बलियो संगठन हिज्बुल्लाहको आधार इलाका हो। लेबनानको राजनीतिक तथा सैन्य शक्ति हेजबुल्लाहलाई इरानको प्रत्यक्ष साथ छ।

अल अरौरी मारिएको भोलिपल्ट अथवा जनवरी ३ मा इरानको केर्मानमा आत्मघाती बम विस्फोट भयो। जसमा परी एक सय इरानीको ज्यान गयो। बम कासिम सुलेमानीको नाममा गरिएको शोकसभामा विस्फोट भएको थियो। सुलेमानी चार वर्षअघि इराकी राजधानी बग्दादमा अमेरिकी ड्रोन आक्रमणको सिकार भएका थिए। शोकसभामा भएको बम विस्फोटको जिम्मेवारी आईएसएसले लियो। तर रिभोल्युसनरी गार्डको निष्कर्ष छ, बम इजरायलले पड्काउन लगाएको हो।

सन् २०२४ लागेपछि पनि अमेरिकाले इरान समर्थित समूहलक्षित आक्रमण गरिरह्यो। फलस्वरूप बगदादमा इराननिकट एक इराकी लडाकु समूहका वरिष्ठ कमान्डर मारिए। इजरायलविरुद्धको इरानी मोर्चाका लागि ती कमान्डरको हत्या ठूलो घाटा थियो। त्यसपछि भने इरानले जवाफी कदम चाल्न सुरु गरेको हो। इराकी सहर इर्बिलमा भएको हमला इजरायलका लागि जवाफ भएको इरानको भनाइ छ।

शोकसभामा आत्मघाती बम विस्फोट गराएको दाबी गरेको आईएसएसविरुद्ध पनि इरान आक्रामक बनेको छ। सिरियामा रहेका आईएसएस आधार शिविरलक्षित क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यो साता इरानी क्षेप्यास्त्र पाकिस्तानमा पनि झरेका छन्।

इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा हवाई हमला गरेको विरोधमा शुक्रबार लाहोरमा प्रदर्शन गर्दै मर्काजी जमियत अहले हदिसका कार्यकर्ताहरू। तस्बिर : एएफपी/रासस

सिया मुस्लिम बहुमत देश इरानले पाकिस्तानी भूमिबाट गतिविधि सञ्चालन गर्ने सुन्नी संगठन जैस अल उदलका लडाकुलाई निसानामा पारेको भनिएको छ। जवाफमा पाकिस्तानले पनि इरानतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानी प्रान्त सिस्तानमा रहेका पाकिस्तान उग्रवादीलक्षित आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयको दाबी थियो।

तीन छिमेकी देशमा क्षेप्यास्त्र प्रहार गरेपछि यसो पनि भनियो, अब इरानले आफ्नो रणनीति परिवर्तन गरेको छ। नाम नबताउने सर्तमा एक इरानी अधिकारी भन्छन्, ‘होइन, हामी केवल अमेरिका र इजरायललाई सन्देश दिन चाहिरहेका छौँ। गाजामा युद्ध जारी रहे यसको असर समग्र खाडीमा पर्नेछ।’

इरान केही वर्षयता इराकमा आफ्नो प्रभाव विस्तार गर्न लागिपरेको छ। पाकिस्तान त उसको नजिकको मित्र भइहाल्यो। त्यही पनि किन क्षेप्यास्त्र प्रहार? ‘बलुचिस्तान र इर्बिलमा बम झार्नुको मतलब हो, कसैले पनि इरानलाई कमजोर ठान्नु हुँदैन। हो, हामी कोहीसँग सीधा युद्ध चाहँदैनौँ तर इरान डराउँदैन,’ ती अधिकारी भन्छन्।

यस्तो रणनीतिले इरानलाई खतरामा भने पारेको छ। तर आइपर्ने खतरा वा घाटालाई सहजै पन्छाउन सकिने विश्वास इरानको एक तप्कामा छ। यो तप्कालाई पश्चिमाहरू ‘हार्डलाइनर’ भन्छन्। ‘खाडी र वरपर हामीलाई साथ दिने थुपै्र संगठन छन्। उनीहरूलाई पनि हाम्रो सद्भाव आवश्यक पर्छ। यतिबेला उनीहरूलाई ढाडस दिनुपर्छ भन्ने नीति हार्डलाइनरहरूको हो,’ एक इरानी अधिकारीले भनेका छन्।

यति बेला खाडीमा इरानसँग नजिक रहेका संगठनको बलियो सञ्जाल छ। हिज्बुल्लाह गठनसँगै यो सञ्जालको सुरुवात भएको हो। पछिल्लो दुई दशकमा सञ्जाल झनै बलियो बनेको छ।

सन् १९८० को दशकमा इरान र इराक युद्धमा थिए। यही युद्धपछि हो इरानले खाडीमा सैन्य तथा लडाकु संगठन हुर्काउने रणनीति लिएको। खासमा यो रणनीति इरानी राष्ट्रिय सुरक्षा नीतिको अंश हो।

इरानलाई के थाहा छ भने अमेरिका वा इजरायलसँग युद्ध लड्न सकिँदैन तर उनीहरूलाई दुःख भने दिन सकिन्छ। दुःख दिन इरान तिनै लडाकु संगठनहरूलाई परिचालन गर्ने गर्छ।

यति बेला खाडीमा इरानसँग नजिक रहेका संगठनको बलियो सञ्जाल छ। हिज्बुल्लाह गठनसँगै यो सञ्जालको सुरुवात भएको हो। पछिल्लो दुई दशकमा सञ्जाल झनै बलियो बनेको छ। सन् २००३ मा इराकमाथिको अमेरिकी हमला र २०११ को अरब आन्दोलनका कारण खाडीको राजनीतिले नयाँ आकार लियो। यही बीचमा इरान समर्थित संगठनहरूले फैलिने अवसर पाएका हुन्।

यी सबै संगठनको विचारधारा एकै छ, अमेरिका र इजरायलविरोधी। इराकमा कैयौँ यस्ता सिया सैन्य संगठन छन् जो संसद्देखि स्थानीय स्तरसम्मै बलिया छन्। उनीहरू हसद अल साबीको नाममा एकै छातामुनि संगठित छन्।

उता सिरियामा भने इरानी राष्ट्रपति बसर अल असादको समर्थन गर्छ। असादलाई सत्ताबाट हटाउने अमेरिकी प्रयास सफल भएको छैन। यमनको धेरैजसो भाग हुथी विद्रोहीको नियन्त्रणमा छ। नौ वर्षदेखि उनीहरू इरानको सहयोगका कारण युद्ध लडिरहेका छन्। युद्धमा यमनी सरकारलाई साउदी अरबको साथ छ। साउदी त्यही देश हो, जसलाई इरानको पारम्परिक प्रतिद्वन्द्वी मानिन्छ।

इजरायलले गाजामाथि आक्रमण गरेपछि यी सबै संगठनले सैन्य प्रतिक्रिया दिएकै छन्। हिज्बुल्लाह दैनिकजसो इजरायली फौजसँग लेबनान-इजरायल सीमामा लडिरहेको छ। हुथी विद्रोहीले ‘रेड सी’ मालवाहक पानीजहाजमा ३० पटकभन्दा बढी हमला गरिसके। उनीहरूले इजरायली बन्दरगाह इलाटामा ड्रोनमार्फत आक्रमण गरेका छन्। क्षेप्यास्त्र प्रहार गरेका छन्। इराक र सिरियामा रहेका अमेरिकी सेनामाथि एक सय ४० क्षेप्यास्त्र प्रहार भएका छन्।

सिरियाको दमास्कसमा शनिबार इजरायली आक्रमणमा ध्वस्त भएको भवन। इरान गठबन्धनका नेताहरू बैठक बसिरहेको भवनमा आक्रमणमा हुँदा पाँचजनाको मृत्यु भएको थियो। तस्बिर : एएफपी/रासस

तेहरान यी आक्रमणको जिम्मा लिन तयार छैन। तेहरान के भन्छ भने सबै आक्रमण फरकफरक संगठनले आफूखुसी गरेका हुन्। सार्वजनिक रूपमा इरानले आफूसमर्थित लडाकु संगठनहरूको परिचालनको जिम्मा नलिए पनि यतिचाहिँ पक्का हो, इरानले बग्रेल्ती मोर्चाबाट इजरायलविरुद्ध युद्ध छेडेको छ। उता इरानी अधिकारीहरू भने आफ्नो देश प्रत्यक्ष युद्धमा होमिन नचाहेको बताइरहेका छन्।

अमेरिकी अधिकारीहरू इरानी योजनामुताबिक पानीजहाजहरूमाथि हुथीले हमला गरिरहेका दाबी गर्छन्। हुथीलाई इरानले रणनीति सिकाउने मात्र होइन ड्रोन पनि उपलब्ध गराइरहेको अमेरिकी बुझाइ छ। इरानले लामो समयदेखि हिज्बुल्लाह र इराकी संगठनहरूलाई सैन्य सामग्री उपलब्ध गराएर रणनीतिक योजना बुन्न मद्दत गर्ने गरेको छ।

‘इरान, हुथी, हिज्बुल्लाह, हमासलगायत मिलेर एउटा अक्टोपस बनेको छ। यो अक्टोपसको टाउको भने इरान हो,’ गत बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलक्षित प्रतिक्रिया दिएका थिए।

इरानको पुरातनवादी राजनीतिक तप्कालाई प्रतिनिधित्व गर्ने हमिद रेजा ताराघी गाजा युद्धका कारण इरान समर्थित संगठन एक भएको बताउँछन्। ‘एकता र संयोजन पहिलेभन्दा बलियो भएको छ। सबै संगठन एकअर्कालाई सहयोग गरिरहेका छन्। आखिरमा उनीहरू एक नेतालाई पछ्याउँछन्। ती नेता हुन्, आयोतल्लाह अल खामेनी,’ उनी भन्छन्।

इरानका सर्वोच्च नेता खामेनीले गत महिना मात्र इजरायल र अमेरिकाविरुद्ध प्रत्याक्रमणमा उत्रिन आह्वान गरेका थिए। ‘हामी एक हुन जरुरी छ। दुश्मनको चालमा नपरी हामी हरेक स्थितिको सामना गर्न तयार हुनुपर्छ। जबजब अवसर पाइन्छ, तबतब दुश्मनलाई सबक सिकाउनुपर्छ,’ खामेनीले भनेका थिए।

एकताको आह्वान गरिए पनि सञ्जालभित्रका संगठनहरू फरकफरक कित्तामा छन्। उनीहरूका आआफ्ना घरेलु एजेन्डा छन्। हेज्जबुल्लाह र इराकका सिया संगठनहरू र तेहरानबीचको सम्बन्ध बलियो छ। उता हमास भने सुन्नी संगठन हो। हुथीभित्र ठूलो तप्का पनि सिया नै हुन् तर उनीहरू इरानी धार्मिक विचारधारलाई धेरै महत्त्व दिँदैनन्। यद्यपि यमनी सरकार र साउदी नेतृत्वको विदेशी हस्तक्षेपविरुद्ध लड्दा इरानको साथ पाएकाले हुथी इरानको साथ छाड्न चाहँदैन।

इरानले बनाएको सञ्जालमा हुथी केही महिनायता सबैभन्दा प्रभावकारी संगठनका रूपमा देखापरेको छ। यसको मुख्य कारण हो, ‘रेड सी’ मा मालवाहक पानीजहाजको आवतजावतमा व्यवधान पुर्‍याउन सक्ने क्षमता। जसले गर्दा विश्व व्यापार खलबलिने सम्भावना बढेको छ। हुथीले पुर्‍याएको व्यवधानका कारण अमेरिका र बेलायतले ‘रेड सी’ मा जलसेना परिचालन गर्नुपरेको छ।

‘इरानका लागि इरान सबैभन्दा पहिलो प्राथमिकता हो। इरान आफूलाई जोगाउन चाहन्छ। आफूलाई कसैले सीधा आक्रमण नगरेसम्म इरानले फौज परिचालन गर्नेछैन। हाल इरानलाई जसले चलाइरहेका छन्, उनीहरू रणनीतिक छैनन् भन्ने होइन।

उसो त इरानको रणनीतिक र हालको सैन्य संकटलाई आकलन गर्ने क्षमताबारे पश्चिमाहरू प्रश्न उठाइरहेका छन्। ‘इरान त्यत्रोविधि चलाख होइन। धेरैले इरानलाई रणनीतिक शक्ति मान्छन्। तर इरान खासमा प्रतिक्रियात्मक शक्ति हो, उसका धेरैजसो कदम अल्पकालीन हुन्छन्,’ क्राइसिस समूह नामक थिंकट्यांकसँग आबद्ध इरान मामिला विज्ञ अली भाइजले फाइनान्सियल टाइम्ससँग भनेका छन्।

खामेनीबाट निर्देशित रेभोल्युसनरी गार्डका कमान्डरहरू, हेज्बुल्लाह र इराकी लडाकुहरूमाथि भइरहेको लगातारको हमलाका कारण इरानको प्रत्याक्रमणको नीति उपलब्धिमुखी बन्न नसकिरहेको भाइजको भनाइ छ। तर हालको युद्धले इरानलाई आणविक परियोजनातर्फ डोर्‍याउने डर भने भाइजको छ।

इजरायल-हमास युद्ध सुरु हुनुअघि पश्चिमा शक्ति र इरानबीचको सम्पर्क बढ्न थालेको भनिँदै थियो। गत सेप्टेम्बरमा त अमेरिका र इरानले कैदी साटासाट गरेका थिए। तेल बिक्रीबापत अन्तर्राष्ट्रिय खरिदकर्ताबाट इरानले पाउनुपर्ने ६ अर्ब अमेरिकी डलर पनि अमेरिकाले फुकुवा गरिदिएको थियो। लिखित सम्झौता नभए पनि इरानले सैन्य गतिविधि कम गर्ने, युरेनियम प्रशोधन घटाउने लगायतका विषयमा पनि छलफल भएका थिए। इरानले युरोनियम प्रशोधन घटाइरहेको अन्तर्राष्ट्रिय रिपोर्ट पनि आएका थिए। तर गाजाको युद्धले इरानलाई पुरानै ढर्रामा फर्काउने डर बढेको छ।

इरानी अधिकारी युरेनियम प्रशोधन बढाएर बाइडन प्रशासनलाई सन्देश दिन चाहिरहेको बताउँछन्। आगामी राष्ट्रपतीय निर्वाचनअघि आणविक परियोजनासम्बन्धी वार्ता नगर्ने जनाउ अमेरिकाले दिएकाले पनि इरान हाल रिसाएको हो। ‘अमेरिका वार्ताको मिति सार्न चाहन्छ, थप समय लिन चाहन्छ भने उसले त्यसबापतको मूल्य पनि चुकाउनुपर्नेछ र यो मूल्य भनेको युरेनियम प्रशोधनमा बढोत्तरी हो,’ इरानी अधिकारी भन्छन्।

हालको परिस्थितिले दुवै देशलाई सैन्य गतिविधि बढाउन दबाब दिइरहेको छ। एकअर्काप्रति लक्षित सैन्य गतिविधि बढाउँदा दुर्घटना हुनसक्ने चेत दुवै देशमा छ। त्यस्तो होस् भन्ने अमेरिका र इरान दुवै चाहँदैनन्। उनीहरू ‘ब्याक च्यानल’ मार्फत निरन्तर सम्पर्कमा रहन चाहन्छन्। एउटा ‘ब्याक च्यानल’ कतार हो। कतार आफैँ पनि अमेरिका र इरानबीचको सम्बन्ध थप समस्याग्रत नबनोस् भन्ने चाहन्छ।

बेलायती थिंकट्यांक चाथम हाउसमा खाडी मामिलामा शोध गर्ने सनम भकिल इरान सम्हालिएर अघि बढ्ने विश्वास गर्छन्। ‘इरानका लागि इरान सबैभन्दा पहिलो प्राथमिकता हो। इरान आफूलाई जोगाउन चाहन्छ। आफूलाई कसैले सीधा आक्रमण नगरेसम्म इरानले फौज परिचालन गर्नेछैन। हाल इरानलाई जसले चलाइरहेका छन्, उनीहरू रणनीतिक छैनन् भन्ने होइन। हो उनीहरूका पनि कमजोरी छन्। इरानलाई रोक्न सकिन्छ, उसको मुख्य कमजोरी यही हो,’ सनम भन्छन्।

त्यसो भए इरानले के गर्छ त? सनमको जवाफ छ, ‘आफ्नो सञ्जालमा रहेका संगठनहरूको परिचालन।’ इरान सकेसम्म आफ्नो सीमासम्म युद्धको खतरालाई आउन नदिने रणनीतिमा रहेको सनमको ठम्याइ छ।

यस्तोमा अर्को प्रश्न पनि उठ्छ- इजरायल र हिज्बुल्लाहबीचको गोलीबारी युद्धमा परिणत भए इरान के गर्छ? यो प्रश्न किन पनि उठ्छ भने हिज्जबुल्लाह इरानले लामो समयदेखि लगानी गरेको संगठन हो। इरानका लागि हिज्जबुल्लाह सबैभन्दा महत्त्वपूर्ण सारथि हो। इरानका लागि हिज्जुबल्लाह कति महत्त्वपूर्ण छ भन्ने इरानी अधिकारीको भनाइबाट पनि पुष्टि हुन्छ। ‘हिज्जबुल्लाह हमास होइन। बरु इस्लामिक गणतन्त्र इरान हो,’ ती अधिकारी भन्छन्।

फाइनान्सियल टाइम्सबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =