‘हामी फैलिएर जहाँ पुगे पनि इतिहास भुल्नु हुँदैन’

विवेक विवश रेग्मी ३ माघ २०८० १९:३९
98
SHARES
‘हामी फैलिएर जहाँ पुगे पनि इतिहास भुल्नु हुँदैन’

इटहरी- इटहरीमा साहित्यिक तथा सांस्कृतिक जागरण कार्यक्रमको आयोजना गरिएको छ। लायन्स र लियो क्लब अफ इटहरी मनकामनाको आयोजनामा बुधबार बिहान इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण अन्तर्गत लेखन, समाज र जीवनमा सञ्चारको प्रभाव’ विषयक बहस आयोजना गरिएको हो।

बहस कार्यक्रममा वक्ताहरूले मानिस फैलिएर जहाँ पुगे पनि आफ्नो इतिहास भुल्न नहुने तर्क गरे। कार्यक्रमका वक्ता सञ्चारकर्मी टीकाराम यात्रीले मानिस जुन संगत र पर्यावरणमा हुर्कन्छ, त्यही क्षेत्रमा स्थापित बन्न सहज हुने बताए। उनले भने, ‘हामी फैलिएर जहाँ पुगे पनि हामीले हाम्रो इतिहास भुल्नु हुँदैन। जिन्दगी गम्भीर पनि छ र सरल पनि छ।’

मानिसहरू शून्यबाट फैलिएर कहाँकहाँ पुगे पनि आफ्नो इतिहास भुलिरहेकोप्रति उनको चिन्ता थियो। समाजमा हरेक मानिसले जीवनलाई राजनीतिक र समसामयिक मात्रै बनाइरहेकाले त्यो भन्दा पृथक हुनुपर्ने उनको तर्क छ।

‘जीवन राजनीतिक र समसामयिक मात्रै होइन। आजको पत्रकारितामा पक्षधरता छ,’ उनले वर्तमान नेपाली पत्रकारिताको अवस्थाबारे इंगित गर्दै भने, ‘यताका कुरा उता र उताको यता ल्याउनेजस्तो मात्रै पत्रकारिता भएको छ। हामीले अनेक मान्छेहरूलाई नायक बनाउन खोजिरहेका छौँ।’

उनले वर्तमान राजनीतिक व्यवस्थामा बालेन, हर्क र रविहरूको उदाहरण दिँदै समाजले नै उचालेर ठूलो मान्छे बनाए पनि उनीहरू नै तल्लो तहसम्म ‘गिराउन’ लागिपर्ने भएकाले सचेत हुनुपर्ने बताए। उनले ती उदाहरण दिदैँ भने, ‘घरहरू औसत हुन्छन्, हामीले धरहरा बनाउन खोज्यौँ।’

राजनीति नीतिहरूको पनि मूल नीति रहेको उद्धृत गर्दै आफूलाई पनि पक्षधरताको ‘ट्याग’ लागे पनि आफू स्वतन्त्र रहेको उनको दाबी छ। ‘मैले कहिल्यै मताधिकार प्रयोग गर्न पाएको छैन। त्यसैले म कतैपट्टि ढल्केको छैन। पत्रकारिताभित्र पनि दलकारिता छ। म त्यो दलकारितामा छैन,’ उनले भने, ‘कहिले कांग्रेस, कहिले एमाले, कहिले राजावादीको आरोप लाग्छ। म कतैपट्टि पनि छैन, त्यसैले पनि राजनीतिकभन्दा भिन्न कार्यक्रमको आयोजना गर्न रुचाउँछु।’

संसार आलोचकहरूले घेरिएको उनको विश्लेषण छ। संसारमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र हरेक मानिसलाई अनुदार आँखाले हेर्नुले पनि आलोचना मात्रै गर्नेहरू बढेको उनले बताए।

मान्छे सिर्जनशील बन्नुपर्ने र त्यसका लागि साधना चाहिने यात्री बताउँछन्। ‘संसारमा जुन कुरा टिकाउ हुन्छ, त्यो कुरा मात्रै गर्नुपर्ने भए पनि मानिसहरू बिकाउ कुराको पछाडि लागिरहेका छन्,’ बहस कार्यक्रममा यात्रीले भने, ‘संसारमा कुनै पनि पेसा न अब्बल छन्, न कमजोर छन्। तर निरन्तरता र सम्पूर्णता दिन सक्नुपर्छ। त्यो टिकाउ हुन्छ।’

उनका अनुसार माध्यम साधन हो, साध्य होइन। साध्य सिर्जना हो। मानिस सिर्जनशील बन्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय संसारमा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रसंगमा यात्रीले एआईलाई असल शिष्य बनाउनुपर्ने बताए। उनले भने, ‘एआईलाई असल शिष्य बनाउनुपर्छ, खराब गुरु बनाउनु हुँदैन।’

अर्का वक्ता, लेखक शिव प्रकाशले मानिस जहाँ बसे पनि असल भएर बाँच्नुपर्ने तर्क राखे। उनी आफू अमेरिकामा बसोबास गरे पनि आफ्नो पुस्तक र साहित्य लेखनमा नेपालीपन रहेको र आफू पनि नेपाली नै भएर बाँच्ने बताए। ‘म को हुँ, के हुँ भन्ने कुरा जान्न शास्त्र पढ्नुपर्छ,’ उनले भने, ‘हामी जहाँ बसे पनि असल मान्छे भएर बाँच्नुपर्छ।’

उनले आफू स्कुले जीवनदेखि नै साहित्य लेखनमा रुचि भएका कारण यही क्षेत्रमा स्थापित हुन निरन्तर साहित्यकर्म गरिरहेको सुनाए। पूर्वीय शास्त्रमा अध्ययन गरेको र सोही कुरामा केन्द्रित भइरहेको उनको भनाइ थियो। ‘निरन्तरता दियो भने साहित्य लेखनबाटै पनि बाँच्न सकिन्छ,’ उनले भने, ‘गणितीय प्रश्नको उत्तर सधैँ एकै भए पनि सांस्कृतिक प्रश्नको उत्तर एकै हुँदैन। त्यसका लागि पनि अध्ययन गर्न आवश्यक छ।’

कार्यक्रमलाई प्रविण अधिकारीले सहजीकरण गरे। उनले सांस्कृतिक, साहित्यिक, समसामयिक राजनीतिक, प्रविधिको विकाससँगै देशमा युवाहरूलाई अध्ययनशील बनाउन गर्नुपर्ने कार्यबारे प्रश्नहरू गरेका थिए। साहित्यिक, सांस्कृतिक र सामयिक विषयमा सञ्चार क्षेत्रले पारेको प्रभावबारे उनले प्रश्नोत्तर गरे।

खास गरी इटहरीमा नयाँ पुस्तालाई पढ्नका निम्ति प्रेरित गर्ने उद्देश्यले उक्त ‘जागरण’ कार्यक्रमको आयोजना गरिएको अभियन्ता युवराज काफ्लेले बताए।

उनका अनुसार इटहरी क्षेत्रमा विद्यार्थीहरूले आफ्नो शैक्षिक पुस्तकबाहेक अन्य पुस्तकसँगै समाजलाई समेत पढ्नका निम्ति पनि प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना भइरहेको छ।

प्रकाशित: ३ माघ २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =