काठमाडौँ- रोजगार अनुमति प्रणाली(ईपीएस) कोरियाको भाषा परीक्षा सरेको छ। वैदेशिक रोजगार ईपीएस शाखाले गत साता जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’तर्फको हुने परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो। ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको शाखाले जनाएको छ।
‘प्राविधिक समस्याका कारण केही ई–मेलमा समस्या आएपछि ‘मेन्युफ्याक्चरीङ सेक्टर’को परीक्षा केही समयपछि हुने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो। केही समस्याका कारण परीक्षा सारिएको सम्बन्धीत पक्षलाई सूचित गराएको उनको भनाइ छ।
कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन्। उनीहरूको परीक्षा तीन चरणका गराउने शाखाले जनाएको छ। अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले कारण पनि परीक्षा सारिएको शाखाले जनाएको छ।