निर्वाचन आचरसंहिता लागेपछि के गर्न हुन्न?

हिमाल प्रेस २ माघ २०८० ७:१८
6
SHARES
निर्वाचन आचरसंहिता लागेपछि के गर्न हुन्न? निर्वाचन आयोग

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन।

सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्षविपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ।

मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ।

आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ।

राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

प्रकाशित: २ माघ २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =