पोखरामा टाइगर कप भलिबल सुरु, विजेतालाई साढे ५ लाख पुरस्कार

हिमाल प्रेस १ माघ २०८० २१:३८
14
SHARES
पोखरामा टाइगर कप भलिबल सुरु, विजेतालाई साढे ५ लाख पुरस्कार

पोखरा- टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा सोमबारदेखि सुरु चौथो टाइगर कपमा महिलातर्फ एपीएफ क्लब र चन्द्रागिरि न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ एपीएफले विजयी सुरुवात गरेको छ।

पुरुषतर्फ नै घरेलु गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मीबीचको उद्घाटन खेल भने लाइट प्रोटेस्टका कारण रोकिन पुगेको छ।महिलातर्फ साविक विजेता एपीएफले नेपाल पुलिसविरुद्ध ३–२ को जित निकालेको छ। एपीएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ।

पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपीएफले भने तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो। सो सेटमा टिम कम्बिनेसनको अभावले एपीएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको पुलिस अन्तिम सेटमा १५–१३ ले एपीएफलाई सुम्पिन पुग्यो। खेलमा एपीएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दी म्याच घोषित भइन्।

दोस्रो खेल चन्द्रागिरि न्यू डायमण्ड क्लबले जितेको छ। त्रिभुवन आर्मीलाई ३-१ को सेटमा हराउँदै २ अंक प्राप्त गरेको छ। पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लगातार जित्दै न्यू डायमण्डले आर्मीविरुद्ध दबाब प्रस्तुत गरे पनि तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पारेको हो। चौथो सेटमा न्यू डायमण्डले २५–१५ ले जित निकालेको थियो। खेलमा रीमा कुँवर टाइगर अफ दी म्याच भइन्।

पुरुषतर्फ एपीएफले नेपाल पुलिसविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ। पहिलो सेट २५-१९ ले सहज जित निकालेको एपीएफले  दोस्रो ३३–३१ र तेस्रो सेट २५–१७ ले जितेको हो। खेलमा एपीएफका विजय थापा टाइगर अफ दी म्याच घोषित भए।

गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मीबीचको उद्घाटन खेलमा गण्डकी २–१ ले अघि रहँदा प्रकाश अभावका स्थगित भएको छ। स्थगित खेल ३ माघमा हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनायो।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध भएको जनाए। उनले प्रदेश सरकारले खेलाडी हित र खेलकुद विकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको बताउँदै प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, कभर्ड हल समेत निर्माण गर्ने योजनामा रहेको बताए।

मुख्यमन्त्री पाण्डेले अग्रज सामाजिक व्यक्तित्व कर्णेल जेपीक्रसलाई सम्मान गरेका छन्। हालै १०० वर्ष टेकेका उनलाई शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएकोमा सम्मान गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले भलिबल खेल विकासका लागि इन्डोर कभर्ड हल आवश्यक रहेको विषयमा जोड दिए।

माघ ६ गतेसम्म हुने चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमले भाग लिएको आयोजक संस्था अध्यक्ष नारायण शर्माले बताए। तीमध्ये पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा कलबले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष र महिला दुवैतर्फ विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन्। तेस्रोले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। विधागततर्फ विजेता खेलाडीलाई एक्सटिइपी फेसनको तर्फबाट आकर्षक जुत्ता उपहार दिइनेछ। जसमा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र कोच रहेका छन्।

दर्शकलाई प्रवेश टिकट आधारमा सामसुङ मोबाइल प्रदान गरिने प्रतियोगिता संयोजक दीपक कार्कीले बताए। प्रतियोगिता आयोजना गर्दा करिब १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।

प्रकाशित: १ माघ २०८० २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =