६ महिनामा ३५.१९ प्रतिशत राजस्व संकलन

हिमाल प्रेस १ माघ २०८० १६:०९
4
SHARES
६ महिनामा ३५.१९ प्रतिशत राजस्व संकलन

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म त्यसको ३५.१९ प्रतिशत अर्थात् ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख मात्रै राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षमा सरकारले कर, गैरकर र ग्रान्ट (सहयोग) लगायतका माध्यमबाट १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो। चालु आवको अर्धवार्षिक अवधिमा सरकारले लक्ष्यको आधा पनि राजस्व उठाउन नसकेको अर्थ मन्त्रालयको समीक्षा तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ४० करोड ९१ लाख रुपैयाँ मात्रै कर उठेको थियो।

समीक्षा अवधिमा करमार्फत ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। गैरकरमार्फत ५२ अर्ब ९४ करोड ७८ लाख, सहयोगमार्फत २ अर्ब ७५ करोड ८० लाख र अन्य प्राप्तिबाट १८ अर्ब ८९ करोड ७८ लाख राजस्व प्राप्त भएको छ। समीक्षा अवधिमा सरकारको बजेट भने ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँले घाटामा गएको छ।

अर्धवार्षिक अवधिमा लक्ष्यको आधा (५० प्रतिशत) राजस्व उठेमा राम्रो मानिन्छ। कम्पनीहरूले गएको लेखापरीक्षण गरेर पुस मसान्तभित्र कर बुझाउनपर्छ। त्यसअनुसार यो समयमा कर संकलन हुन्छ। यही अवधिमै सरकारको राजस्व प्राप्ति कमजोर देखिएको छ।

सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने लक्ष्य लिएको छ। समीक्षा अवधिमा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख मात्रै खर्च भएको देखिएको छ। समीक्षा अवधिमा लक्ष्यको ३२.३५ प्रतिशत मात्रै खर्च भएको छ।

समीक्षा अवधिमा पुँजीगत खर्च झन् कमजोर छ । समीक्षा अवधिमा १६.३ प्रतिशत अर्थात् ४९ अबै २३ करोड ५८ लाख मात्रै पुँजीगत खर्च भएको छ। सरकारले चालु आवका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट छुट्याएको छ।

यसैगरी समीक्षा अवधिमा चालुतर्फ ४ खर्ब ३७ अर्ब ३८ करोड १३ खर्च भएको छ। वित्तीय व्यवस्था (ऋण भुक्तानी लगायत) तर्फ ८० अर्ब ४३ लाख खर्च भएको छ।
समीक्षा अवधिमा सरकारको आम्दानी मात्रै होइन, खर्च पनि निकै कमजोर देखिएको छ।

प्रकाशित: १ माघ २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =