कर राजस्वमा उच्च योगदान गर्नेलाई सीएनआईको सम्मान

हिमाल प्रेस १८ मंसिर २०८० १२:२२
10
SHARES
कर राजस्वमा उच्च योगदान गर्नेलाई सीएनआईको सम्मान

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)ले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट पुरस्कृत भएका करदाताहरूलाई सम्मान गरेको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो। सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन्। सीएनआईले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो। १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्य हुने।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्टस् प्रालि, कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फूड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो।

यस्तै सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थामध्ये ग्लोबल आइएमइ. बैंक लिमिटेड, बिमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिलाई सीएनआईले सम्मान गरेको छ।

यसैगरी पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालि सम्मानित भएको छ। वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ।

परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले करदातालाई सम्मान गरे। उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धीमात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए। यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा करदातालाई परिसंघले सम्मान गरेको अग्रवालले बताए।

प्रकाशित: १८ मंसिर २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =