गत आवमा काठमाडाैँ महानगरले उठायाे १० अर्ब २५ करोड रुपैयाँ राजस्व

हिमाल प्रेस २४ साउन २०८० १५:५४
14
SHARES
गत आवमा काठमाडाैँ महानगरले उठायाे १० अर्ब २५ करोड रुपैयाँ राजस्व

काठमाडाैँ-  काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कामपाले गत आवको लागि १० अर्ब ४१ करोड रुपैयाँ लक्ष्य लिएको थियो।

अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठे पनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ।

महानगरले अघिल्लाे आव २०७८/७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व संकलन गरेकाे थियाे। अनुदान रकम कम भए पनि पछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ बढी संकलन गरिएकाे थियाे। महानगर राजस्व विभागका प्रमुख धुव्र काफ्लेले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड रुपैयाँ बढी राजस्व संकलन गरिएकाे जानकारी दिए।

महानगरले सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेकाे उनले बताए। त्यस्तै सम्पत्ति करमा एक अर्ब आठ करोड, व्यवसाय करमा ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए।

त्यस्तै नक्शापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ। स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो।

आव २०७८/७९ मा जम्मा चार अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/८० मा पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ। कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।

गत आवमा बाँडफाँटबाट कामपाले एक अर्ब ८५ करोड रुपैयाँ पाएको छ। राजश्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको तुलनामा एक अर्ब ६८ करोड ९४ लाखले कमी हो। अघिल्लो वर्ष करिब तीन अर्ब  ५५ करोड रुपैयाँ प्राप्त गरेको थियो।’

प्रकाशित: २४ साउन २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =