फेसबुकमा आफैंले सेयर गरेको एउटा कन्टेन्ट, जसले हर्कलाई बनायो अक्क न बक्क

विवेक विवश रेग्मी २९ पुष २०८० १९:२९
2.6k
SHARES
फेसबुकमा आफैंले सेयर गरेको एउटा कन्टेन्ट, जसले हर्कलाई बनायो अक्क न बक्क

इटहरी- धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो फेसबुक वालमा एक ‘कन्टेन्ट’ सेयर गर्दा उनलाई आपत् आइलागेको छ।

आइतबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रमुख साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उनले फेसबुकमा सेयर गरेको युट्युब भिडियोको ‘कन्टेन्ट’बारे पुष्टि गर्न चुनौती दिए।

धरानमा आफू उपप्रमुखमा निर्वाचित भएर आएदेखि नै प्रमुखलाई साथ दिएको भए पनि पुष्टि नै नहुने युट्युब भिडियो प्रमुखले सामाजिक सञ्जालमा सेयर गरेर भ्रममा पार्न खोजेको बताए। ‘मेयर हर्कको विरोधी, उपमेयर आइन्द्रको मन पहिलेदेखि नै विषालु’ शीर्षकको युट्युब कन्टेन्ट मेयर साम्पाङले जनवरी २ मा आफ्नो सञ्जालमा सेयर गरेका छन्। सोही विषयलाई लिएर आइतबारको कार्यपालिका बैठकमा उपमेयर बेघा आक्रामक बनेका हुन्।

‘तपाईंले खेलाँची गरेको हो? किन सेयर गर्नुभो?,’ उपमेयर बेघाले मेयर साम्पाङसँग प्रश्न गरे, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो। तर जसले बोक्छ उसको टाउकोमा दिसापिसाब गर्दै नहिँड्नुस्।’ उनले उक्त स्टाटसको पुष्टि गर्न चुनौती दिए।

स-साना कुरामै रमाउने मेयर साम्पाङ खास गरी सामाजिक सञ्जालमा प्रशंसा रुचाउँछन्। लाइक र कमेन्टमा रमाउने उनले आफ्नै उपमेयरको उक्त पोस्टले भने पिरलो बनायो। उनी यसबीचमा अक्क न बक्क बने।

‘तपाईंले जे पायो त्यही बोल्न मिल्छ?,’ भन्ने उपमेयर बेघाको प्रश्नमा मेयर साम्पाङले आफू नेता भएको र उपनेताले धेरै काम, कर्तव्य गर्न नमिल्ने तर्क राखे। ‘तपाईं उपनेता हो, नेता त म हो। तपाईं उपमेयर हो, उपमेयर भनेको उपनेता मात्रै हो,’ मेयर साम्पाङले भने, ‘केन्द्रसँग टसल गर्न साथ दिनु छैन।’ साथ नदिएको बताइरहँदा उपमेयर बेघा झनै आक्रोशित बने। अहिलेसम्म एक शब्द पनि नबोलेको बताउँदै उनले साथ नदिएको कुराको पुष्टि गर्न चुनौती दिए।

‘घरी गणराज्य बनाउँछु भन्नुहुन्छ। घरी धरान छुट्टै राज्य अरे,’ उपमेयर बेघाले भने, ‘घरी ताला लगाइदिन्छु भन्नुहुन्छ। घरी के भन्नुहुन्छ। धरानको नागरिकले तपाईंलाई जनताको अभिभावक होस् भन्ने चाहनुहुन्छ। तर, तपाईं घरी कसको मुख टाल्नुहुन्छ, कसैको आँखा घोच्नुहुन्छ, कसैको भुँडी घोच्नुहुन्छ।’ उता मेयर साम्पाङले भने केन्द्र सरकारले हेर्नुपर्ने जवाफ दिएका थिए।

यसअघि मेयर साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर कार्यकक्षबाट हटाएका थिए। सो विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले माफी मागेका थिए। ‘माफी माग्नुपर्‍यो भने मैले माग्ने हो, तपाईंले त्यसरी माग्ने होइन,’ मेयर साम्पाङले कार्यपालिका बैठकमा भने। मेयर साम्पाङ र उपमेयर बेघाबीचको चर्काचर्कीमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू भने मौनजस्तै बने।

यसैबीच धरान उपमहानगरपालिका मेयर साम्पाङको कार्यकक्षबाट हटाएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आइतबार कार्यपालिका बैठक सभाहलमा राखिएको छ।

प्रकाशित: २९ पुष २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =