अध्यक्षबाट झरेर सहअध्यक्षमा रन्जिता

हिमाल प्रेस २९ पुष २०८० ८:२९
58
SHARES
अध्यक्षबाट झरेर सहअध्यक्षमा रन्जिता फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ।

कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको जनाइएको छ।

यद्यपि, रन्जिताले अध्यक्षमै दाबी गरेकी थिइन्।

रेशम चौधरीले दाबी नछाडेपछि श्रेष्ठ सहअध्यक्ष बसेकी हुन्। निकट स्रोतका अनुसार अध्यक्ष नपाएपछि रन्जिता महाधिवेशन छाडेर काठमाडौँ आएकी थिइन्।

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्थासमेत गरेको छ। पार्टीको विधानमा ३९ जना पदाधिकारीसहित दुई सय ४६ जना केन्द्रीय सदस्य निर्वाचित र दुई सय ५५ जना मनोनित गर्ने व्यवस्था छ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्।

पार्टी र परिवारमा असन्तुष्टी नरहेको दाबी दुवैको छ। रेशमले देशका विभिन्न जिल्लाका प्रतिनिधि समेटेर महाधिवेशन गरेको बताएका छन्।

रन्जिता नाम मात्रकै सहअध्यक्ष

नाउपा खोल्दा रेशम जेलमै थिए। टीकापुर हत्याकाण्डको योजनाकर्ता भन्दै उनीमाथि कसूर थियो। त्यसबेला रन्जिताले पार्टी खोलिन्। यसमा जेलभित्रबाट अप्रत्यक्ष रूपमा रेशमले नै पार्टी चलाउँथे। अध्यक्ष रहे पनि रन्जिताले रेशमलाई नै सोधेर पार्टी चलाउँथिइन्। यसबाहेक अब सहअध्यक्षमा खुम्चिएकी छन्।

नाउपाका एक नेताका अनुसार रन्जितालाई कुन जिम्मेवारी दिइने तोकिएको छैन। असन्तुष्टिका लागि पद देखाइए पनि पदीय हैसियत नरहने ती नेताको दाबी छ। यसबाहेक टीकापुर हत्याकाण्डका दोषी रेशमलाई निर्वाचन आयोगले वैधता नदिएमा रन्जितालाई अघि सार्नुपर्ने देखिन्छ।

 

प्रकाशित: २९ पुष २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =