सुदूरपश्चिम प्रदेश : श्रीमान्-श्रीमतीमा खटपट, प्रदेश सरकारमा संकट

हिमाल प्रेस २२ चैत २०८० ९:१७
6
SHARES
सुदूरपश्चिम प्रदेश : श्रीमान्-श्रीमतीमा खटपट, प्रदेश सरकारमा संकट नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र साथमा उनकी पत्नी एवं अध्यक्ष रन्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- केन्द्रीय गठबन्धनमा भएको फेरबदल र सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कलहका कारण सुदूरपश्चिम प्रदेशको सरकार संकटमा परेको छ।

तत्कालीन केन्द्रीय गठबन्धन हुँदा कांग्रेस-माओवादीसहितको बहुमतको सरकार अहिले संकटमा परेको हो।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनले आज (बिहीबार) विश्वासको मत लिँदैछन्। तर उनले आज विश्वासको मत नपाए सत्ताबाट बाहिरिनुपर्ने हुन्छ। उनी अहिले अल्पमतमा परेको विपक्षी दलका नेताहरूले दाबी गर्दै आएका छन्।

यस्तो छ अंकगणित

गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। बहुमतका लागि २७ सांसद चाहिन्छ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ। प्रदेशसभामा नाउपाका ७ सांसद छन्। त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ।

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए। नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने रञ्जितानिकट नेताहरू बताउँछन्।

नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन। त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ।

घरझगडाले समस्या

मुख्यमन्त्री शाहको सरकार बचाउन नाउपा नै मुख्य निर्णायक हो। तर नाउपा नै अहिले कलहमा छ। नाउपाका केन्द्रीय नेताहरूले दुई किसिमको ह्वीप जारी गरेका छन्। त्यसो त, नाउपाका संस्थापक रेशम चौधरीले शाहलाई विश्वासको मत दिन र पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले नदिन ह्वीप जारी गरेकी छन्।

शाहले सरकार बचाउन नाउपाका ५ सांसदलाई मन्त्री बनाएका छन्। तर ती ५ जनाले नै मत दिँदा पनि सरकारको संकट टर्दैन। शाहको सरकार बचाउन नाउपाका सबै सांसदले मत दिनु अनिवार्य छ। तर आन्तरिक बेमेलमा फसेको नाउपाका सबै सांसदले मत दिने सम्भावना कम छ। यद्यपि, रञ्जिता पक्षधर २ सांसदले मत नदिने पार्टी स्रोतले जनाएको छ।

यसो भएमा कांग्रेसका १८ र नाउपाका ५ जनाले मात्रै सरकार बच्दैन। यही कारण सरकार ढल्न सक्ने विश्लेषण गरिएको छ।

श्रीमान्-श्रीमती दुईतिर फर्किदा संकट

अहिले रेशम चौधरी सुदूरपश्चिम सरकार बचाउन लागेका छन्। उनी सार्वजनिक रूपमै सुदूरपश्चिम सरकार बचाउनुपर्ने बताउँदै आएका छन्। तर यता श्रीमती रञ्जिता भने शाहको सरकार भन्दा केन्द्रीय एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्ने पक्षमा छिन्।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै रेशमलाई जेलबाट निकाल्न सहयोग गरेकाले गुन तिर्नुपर्ने बताउँछिन्। यता रेशम भने प्रचण्डले बाध्यताले जेलबाट निकाल्न सहयोग गरे पनि अब आफ्नै खुट्टामा उभिनुपर्ने बताउने गरेका छन्।

यसअघिबाटै रेशम-रञ्जितामा खटपट आएको थियो। यसअघिको नाउपाको केन्द्रीय महाधिवेशनमा रञ्जिता अध्यक्षमा दोहोरिन चाहन्थिन् तर रेशमले आफै अध्यक्ष बन्ने रहर गरे। यही कारण उनीहरूबीच खटपट आएको नाउपा स्रोत बताउँछ। यद्यपि, रेशम फौजदारी मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले महाधिवेशन अवैधानिक ठहर्‍यायो। यसकारण रब्जिता नै अध्यक्ष बनिन्।

टीकापुर हत्याकाण्ड घटना घटाउन रेशम मुख्य योजनाकार रहेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको थियो। उनी लामो समय जेल बसे। तर राष्ट्रपतिबाट आममाफी पाएपछि उनी छुटेका छन्। त्यसबेला रञ्जिताको अध्यक्षतामा नाउपा गठन भएको थियो। तर अहिले सोही पार्टीमा संकट आएको छ।

 

प्रकाशित: २२ चैत २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =