‘जंगलमा ३३ वर्ष’

हिमाल प्रेस २८ पुष २०८० १८:१२
14
SHARES
‘जंगलमा ३३ वर्ष’

काठमाडौँ- कवि, उपन्यासकार तथा निबन्धकार धर्तीचन्द्र यात्रीकृत ‘जंगलमा ३३ वर्ष’ पुस्तकको परिचर्चा गरिएको छ। डा. ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वन तथा पर्यावरणका क्षेत्रका वरिष्ठ संरक्षकहरूले कृतिको समीक्षा गरे।

वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले वन तथा निकुञ्ज क्षेत्रमा रही राष्ट्रसेवा गरिरहेका यात्रीले नेपालको वन, वन्यजन्तु र निकुञ्जसहितको तथ्य, तथ्यांक र सूचनासहितको कृति प्रकाशित गरी योगदान पुर्‍याएको बताए।

वरिष्ठ लेखक युयुत्सु आरडी शर्माले नेपालको वन, वन्यजन्तु र वनस्पतिको संरक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेका यात्रीको पुस्तक वन्यजन्तुबारे जानकारी प्राप्त गर्ने महत्त्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिए।

वरिष्ठ साहित्यकार श्यामप्रसाद रिमालले अघिल्लो वर्ष फागुनमा प्रकाशन र विमोचन भएको कृतिबारे ९ महिनासम्म चर्चा परिचर्चा हुन सुखद पक्ष भएको बताए।

साहित्यकार सविना सिन्धुले यातायात र सूचनाको अभाव रहेका बेलामा बोटविरुवा र वन्यजन्तुको संरक्षणका सन्दर्भमा गर्नुपरेको संघर्ष र भोगाइसहितका पर्यावरण संरक्षणसम्बन्धी तथ्यगत सूचना प्रकाशित गरी यात्रीले राज्यलाई ठूलो सहयोग गरेको बताइन्।

पर्यावरणविद् रोशन शेरचनले पुस्तक पढिरहँदा आफू वन र वन्यजन्तुसँगै रहेको भान हुने मात्र नभई त्यस क्षेत्रमा रहँदा भोग्न परेको दुःख कष्ट, उकाली-ओरालीका कथा व्यथा समेटिएको विचार प्रकट गरे।

पुस्तकका लेखक यात्रीले राष्ट्र सेवाका सन्दर्भमा लामटाङ, डोल्पा र बर्दिया क्षेत्रमा रहँदा वन क्षेत्रको विकास र विस्तारका लागि गरिएका प्रयास, भोग्नुपरेका समस्या र त्यससम्बन्धी तथ्य तथ्यांक समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिए। उक्त पुस्तक छिट्टै अंग्रेजीमा प्रकाशित हुनेछ।

प्रकाशित: २८ पुष २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =