आहारारा पोखरा गोल्डकप खेल्ने यी हुन् १२ टिम

हिमाल प्रेस २६ पुष २०८० ११:०८
46
SHARES
आहारारा पोखरा गोल्डकप खेल्ने यी हुन् १२ टिम

पोखरा- २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ।

आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गरी टिम सार्वजनिक गरेको हो।
आगामी माघ ९ देखि पोखरा रंगशालामा सन्चालन हुने यो प्रतियोगिता नेपालमा निरन्तर आयोजित एकमात्र फुटबल प्रतियोगिता हो।

प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए।

गत वर्षको विजेता संकटा हो भने उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनोसोटा, अमेरिका हुन्। पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हब सिटीको रूपमा विकास गर्दैै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याउन यो प्रतियोगिता महत्वपूर्ण रहेको क्लब अध्यक्ष बरालले बताए।

माघ ९ देखि २० सम्म संचालन हुने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ। फुटबल प्रतियोगितामार्फत बचत रकम सहारा एकेडेमी सन्चालन गर्दै आएको सहाराले यसपालि ३७ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ।

२०६१ सालदेखि आवासीयरूपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७ दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौंथो ब्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन्।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक किरण केसीले सहाराको सामाजिक कार्यमा आफूहरू दोस्रो पुस्ताले पनि साथ दिन पाउँदा खुसी लागेको बताए। पहिलो संस्करणदेखि नै यो प्रतियोगितामा हिमश्री फुड्स प्रालि मुख्य प्रायोजक रहँदैआएको छ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्नेछ ।

प्रकाशित: २६ पुष २०८० ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =