आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

हिमाल प्रेस १३ पुष २०८० १२:०५
14
SHARES
आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

कास्की- मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ।

सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता पोखरा रंगशालामा हुनेछ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ बर्सेनि हुँदै आएको प्रतियोगितामा यसपटक विदेशी टोलीहरू, ‘ए’ डिभिजनका क्लबहरू, मोफसलका टोलीहरू र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।

गत संस्करणको विजेता संकटा क्लब काठमाडौँ तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए। ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नाराका साथ २०५५ सालमा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिन्छ।

आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो। प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ।

यसैगरी, उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ। राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ।

‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताए। प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ।

क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएको छ। क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकहरूलाई फुटबल खेल सिकाउँदै आएको छ। हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।

प्रकाशित: १३ पुष २०८० १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =