दशरथ रंगशाला फुटबल खेल्न अयोग्य

हिमाल प्रेस १८ फागुन २०८० १६:३०
38
SHARES
दशरथ रंगशाला फुटबल खेल्न अयोग्य

काठमाडौँ- फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोटअन्तरगत बहराइनसँग हुने खेल दशरथ रंगशालामा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दरशरथ रंगशालामा खेल नहुने पुष्टि गरेको हो।

पछिल्लो समय दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो। उसले मैदानमा अवस्था यही रहे नेपालमा नखेल्ने एएफसीलाई जानकारी गराएको थियो।

बहराइनका प्रतिनिधि केही दिनअघि नेपाल आएर मैदान निरीक्षण गरेका थिए। बहराइनको उजुरीपछि एएफसीको म्याच कमिस्‍नर भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले मैदानको निरीक्षण गरेका हुन्। उनले मैदान खेल्न योग्य नरहेको बताएपछि खेल सरेको हो।

नेपाल र बहराइनबीच चैत ८ गते दशरथ रंगशालामा हुने तय थियो। समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ। युएई र यमनसँग हारेको नेपालको यु-२३ टोली र चीनको प्रान्तीय टिमबीच खेल हुँदा नै मैदानको धेरै आलोचना भएको थियो। कमजोर मैदानमा खेलाएको तथा दुबो भन्दा बढी माटो देखिएको र बढी धुलो उडेपछि समर्थकले आलोचना गरेका थिए।

त्यसैगरी गत साता नेपाल रग्बी संघको आयोजनामा रग्बी राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप आयोजना भएको थियो। यसैगरी दशरथ रंगशालामै शनिबार केपी ओेली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल पनि हुँदैछ।

दशरथ रंगशाला नेपाल सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रेखदेख गर्छ। राखेपले रंगशालामा फुटबलका साथै अन्य विभिन्न कार्यक्रम आयोजना गर्न शुल्क लिएर स्वीकृति दिने गरेको छ। राष्ट्रिय संघहरूलाई भने नि:शुल्क खेल प्रतियोगिता आयोजना गर्न दिन्छ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो। तर, यो पनि सरकार मातहत भएकाले सबै खेललाई अवसर दिने गरेको छ। जसको प्रभाव फुटबललाई पर्छ। वर्षभर जोगाएर राखेको दुबो यस्तै प्रतियोगिता र कन्सर्टको समयमा बिग्रन्छ। यसअघि सन् २०१९ नेपाल र कुवेतबीचको छनोट खेल पनि दशरथ रंगशाला तयार नहुँदा न्युट्रल भेन्युको रुपमा भुटान पुगेको थियो।

प्रकाशित: १८ फागुन २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =