राष्ट्रियसभा निर्वाचन

देउवाबाट सिटौलाले लिए टिकट, शेखरलाई भेटेर हिँडे झापा

हिमाल प्रेस २२ पुष २०८० १९:२५
264
SHARES
देउवाबाट सिटौलाले लिए टिकट, शेखरलाई भेटेर हिँडे झापा कृष्णप्रसाद सिटौला। फाइल तस्बिर- सन्तोष अधिकारी/हिमालप्रेस

काठमाडौँ- नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उनलाई कोशी प्रदेशबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीले उम्मेदवार बनाउने निर्णय गरेसँगै सिटौला सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको टिकट (पत्र) लिएर अर्का नेता डा.शेखर कोइरालालाई भेट्न पुगेका थिए। कोइरालासँग छलफल गरेर सिटौला झापा गएका छन्।

कांग्रेसले राष्ट्रियसभा उम्मेदवार तय गर्ने मापदण्डमा चुनाव हारेका व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय गरेको थियो। तर मापदण्ड मिचेर सिटौलालाई उम्मेदवार बनाएको छ।

सिटौलासहितका पुराना नेतालाई फेरि पनि टिकट दिएको विषयमा देउवा समूहकै नेता नैनसिंह महरले आपत्ति जनाएका थिए।’नेपाली कांग्रेसको घातक समस्या भनेको अबसरको न्यायोचित बितरण हुन नसक्नु नै हो। २०४६ सालदेखि अवसर पाएकाहरु निरन्तर रजगज गरि राख्ने ,अवसर नपाएका जिन्दगिभर भौतारी रहनु पर्ने बिडम्बना तोडिनु आवश्यक छ,’ उनले भनेका छन्, ‘यसै सन्दर्भमा ,राष्ट्रिय सभा निर्बाचनमा उम्मेदबार छनौटकालागि नेपाली कांग्रेस केन्द्रीय समितिले बनाएको मापदण्ड नै अन्तिम हो । यसका अलावा गुट,उपगुट,ईष्टमित्र,नजिक टाढाको सम्बन्धलाई आधार बनाएर गरिने कुनै पनि निर्णय देश र कांग्रेसको खिलाप हुनेछ।’

मधेश प्रदेशबाट आनन्द ढुंगाना उम्मेदवार बन्दैछन्। अहिले कांग्रेसभित्र बागमती प्रदेशबाट क-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा विवाद चर्किएको छ। सभापति देउवा समूहले तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ भने महामन्त्री गगन थापाले (इतर समूह) काठमाडौँ जिल्ला सभापतिसमेत रहेका सबुज बानियाँलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन्।

बागमती प्रदेशमा महिलातर्फ उमा दाहाल र विष्णुदेवी पुडासैनीमध्ये एक जनाको नाममा सहमतिको प्रयास भइरहेको छ। त्यस्तै गण्डकी प्रदेशबाट सोभियत अधिकारी र गोपालमान श्रेष्ठमध्ये एक उम्मेदवार बन्ने छन्। लुम्बिनीबाट पुष्पा भुसाल र विष्णु सापकोटामध्ये एक जनालाई उम्मेदवार बनाउन लागिएको छ।

कर्णालीमा पनि देउवा समूह र शेखर-गगन समूहबीच विवाद चुलिएको छ। खुला सदस्यमा पार्टीका प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय र भूपेन्द्रजंग शाहीबीच कसलाई उम्मेदवार बनाउने विषयमा विवाद भएको हो। रोकाय सभापति देउवा समूहका हुन् भने शाही शेखर-गगन इतर समूहका हुन्। इतर समूह शाहीको नामबाट पछि नहट्ने अडानमा छन्।

यता सुदूरपश्चिम प्रदेशबाट खुला सदस्यमा बलदेव बोहरा र अल्पसंख्यक अपा‌ंगतामा नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने तयारी छ। उम्मेदवार छनोटको विषयले कांग्रेसभित्र विवाद चुलिँदो छ।

फागुन २० गते राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत एकसहित २० सदस्य पद रिक्त हुँदैछ। रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनीत १ जना छन्।

निर्वाचन हुने १९ पदलाई सत्ता गठबन्धन दलले भागबन्डा गरेका छन्। भागबन्डामा नेपाली कांग्रेसले १० सिट पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएका छन्।

प्रकाशित: २२ पुष २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =