देउवा र दाहाललाई देखाउँदै ओलीले भने : हामी तीन जना भेट्दा राजावादीले किन टाउको दुखाएको?

'राजतन्त्र दरबार हत्याकाण्डकै बेला सकियो'

हिमाल प्रेस १६ पुष २०८० १५:३१
32
SHARES
देउवा र दाहाललाई देखाउँदै ओलीले भने : हामी तीन जना भेट्दा राजावादीले किन टाउको दुखाएको?

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख तीन दलका तीन नेता (ओलीसहित शेरबहादुर देउवा र पुष्पकमल दाहाल) नेताको बैठक बस्दा राजावादीहरूले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको बताएका छन्। आज सोमबार नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको विमर्श सभालाई सम्बोधन गर्दै ओलीले तीन ठूला दलका शीर्ष नेता भेट्दा राजावादीको टाउको दुख्ने गरेको बताएका हुन्।

‘हामी तीनजना नेता भेट्यो कि उनीहरू (राजावादी)को टाउको दुख्छ, सामाजिक सञ्जालमा लेख्न थालिहाल्छन्, उनीहरूलाई चिन्ता लाग्छ राजतन्त्र फर्कन दिँदैन कि क्या हो? हो त हाम्रो कपाल त्यसै फूलेको छ?,’ उनले भने,’लोकतान्त्रिक गणतन्त्र– यसमा हामी एक छौँ, हुनुपर्छ । शान्तिका सन्दर्भमा हामी एक छौँ, एक हुनुपर्छ। सामाजिक न्याय र समानताका लागि एक छौँ, हुनुपर्छ। हाम्रा इन्स्टिच्युसनहरू (संस्थाहरु) सबल र सक्षम बनाउने विषयमा भएका कमजोरी हटाउन पनि एक हुनुपर्छ।’

उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको पनि बताए। ‘राजतन्त्रको बहस अब नेपालमा आवश्यकै छैन, किनभने यो सिद्धिसक्यो । दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो,’ उनले भने, ‘हामीले त्यति बेला पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरीले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो। तमासा देखायो त्यसले, अनि हटाउनुपर्‍यो ।’

ओलीले राजावादीहरूलाई कस्तो राजा चाहिएको हो भन्दै प्रश्न पनि गरे। उनले प्रश्न गर्दै भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ?’

उनले ‘सेरेमोनियल’ त राष्ट्रपति रामचन्द्र पौडेल नै रहेको बताए । ‘संवैधानिक, सेरेमोनियल यस्तो राजा बनाउन खोज्या ? सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त,’ उनले भने, ‘अनि, के गर्छ त राजाले ? गद्दीमा बसेर केही गर्ने त होइन।’

उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनका लागि आफूहरूको एकता रहिरहने उनको भनाइ छ।

ओलीले नेपाली राजनीतिमा अहिले स्वस्थ प्रतिस्पर्धा हुन नसकेको पनि बताए। उनले कांग्रेसलाई आरोप लगाउँदै भने, ‘गठबन्धनका कारण स्वस्थ प्रतिस्पर्धा हुन सकेको छैन। प्रतिस्पर्धा स्वस्थ बनाउन नेपाली कांगेसको प्रतिबद्धता चाहिन्छ।’

त्यस्तै ओलीले बालकुमारीमा भएको घटनाबारे पनि जवाफ माग गरे। ‘मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो ? नगई नहुने त्यहाँ के पर्‍यो ? थुप्रै प्रश्नहरू उठेका छन्,’ उनले भने, ‘तिनको जवाफ के हो ? हुलमा गएर, निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर, मान्छे मारेर के गर्न खोजेको?’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइएको थियो। झडपमा दुई युवकको मृत्यु भएको थियो। यस घटनाबारे सरकारले उच्चस्तरतीय न्यायिक छानबिन समिति गठन पनि गरिसकेको छ।

प्रकाशित: १६ पुष २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =