बालकुमारी घटना : संसदीय समितिमा कसले के भने?

हिमाल प्रेस १६ पुष २०८० १५:०५
22
SHARES
बालकुमारी घटना : संसदीय समितिमा कसले के भने?

काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

सिंहदरबारमा साेमबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त घटनामा केही कमजोरी देखिएको भन्दै अनुसन्धानबाट घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।

अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही  १० लाख रुपैयाँ राहतको व्यवस्था गरिएको बताए।

मृतकको परिवारलाई ईपीएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ । प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर नै गरिएको उनकाे दाबी छ।

गृहमन्त्री श्रेष्ठले युवाले प्रदर्शन गरिरहँदा मन्त्री प्रकाश ज्वालाको गाडी प्रदर्शनस्थलमा पुगेपछि भीड थप आक्रामक देखिएको पाइएको बताए।

बैठकमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ईपीस कार्यालयमा रहेको प्रदर्शनलाई तितरबितर पारेको अवस्थामा मन्त्रीको गाडी पुगेपछि भीड आक्रमक देखिएको जिकिर गरे।

मन्त्रीको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गरेका कारण घटना घटेको उनको भनाइ छ। त्यस्तै उनले घटनामा मन्त्रीको पीएसओले प्रयाप्त जानकारी लिन नसकेको बताए। कुँवरले घटनालाई मध्यनगर गर्दै त्यसअघि नै २१५ जना नेपाल प्रहरी परिचालन गरिएको र ८ जना प्रहरी घाइते भएको जानकारी दिए।

बैठकमा सांसदहरूले प्रशासनको कमीकमजोरीक कै कारण बालकुमारी घटनामा दुई युवाको ज्यान गएको भन्दै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका थिए।

समिति सदस्य रवि लामिछानेले वैदेशिक रोजगारीमा जान लागेका युवाको गृह प्रशासनले हत्या गरेको आरोप लगाए। गृह मन्त्रालयको नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको  उनकाे भनाइ छ।

त्यस्तै समिति सदस्य गगनकुमार थापाले बालकुमारीमा भएको घटनामा मन्त्रीलगायत सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए। उनले ईपीएसमा धेरै अघि देखिएको समस्यमा समाधान समयमा नहुँदा पनि घटना घट्न पुगेको बताए। थापाले माइतीघरको निषेधाज्ञा हटाउन पनि गृहमन्त्रीलाई सुझाव दिए।

त्यस्तै समिति सदस्य रघुजी पन्तले बालकुमारी घटनामा गृहमन्त्रीको राजीनामाको कुरा आएकाले गृहमन्त्रीले नैतिक रुपमा सोच्नुपर्ने बताए। पन्तले उक्त घटनामा नेपालको प्रहरी प्रशासन गृहको नियन्त्रणमा नरहेको पुष्टि भएको जिकिर गरे।

गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जना युवाको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =