‘द रेड सुटकेस’ चैत ३० मा प्रदर्शन

हिमाल प्रेस १६ पुष २०८० १२:१९
44
SHARES
‘द रेड सुटकेस’ चैत ३० मा प्रदर्शन

काठमाडौँ– विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा अवार्ड पाएकाे ‍ ‘द रेड सुटकेस’ आगामी चैत ३० गते नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा फिल्मकाे पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

फिल्म आप्रवासी नेपाली कामदारको कथामा आधारित फिल्मका निर्देशक फिडेल देवकोटा हुन्। फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्म समन अलभितिगाले सम्पादन गरेका छन्। फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन्।

‘द रेड सुटकेस’ ८० औं भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो। उक्त फेस्टिभलमा फिल्मले दुई अवार्ड जित्यो। त्यस्तै जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विट्जरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभललगायत थुप्रै फेस्टिभलमा छनोट भएको थियो।

विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको फिल्मले घरेलु बक्सअफिसमा दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्न लागेको निर्माता रामकृष्ण पोखरेलले बताए। ‘विश्वका दर्शकहरुको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो। अब हामी घरेलु दर्शकको प्रतिक्रियाका लागि उत्सुक छौँ।’ पोखरेलले भने।

निर्देशक फिडेल देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए। ‘सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो। त्यो सपना साकार भयो। अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो। यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ। प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ।’

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो।फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =