सुजन राउत र वीरेन्द्र शाहका हत्यारामाथि कारबाहीको माग गर्दै सुर्खेतमा प्रदर्शन

रमा केसी १४ पुष २०८० १५:४३
28
SHARES
सुजन राउत र वीरेन्द्र शाहका हत्यारामाथि कारबाहीको माग गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुजन राउत र वीरेन्द्र शाहका हत्यारामाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले शनिबार ‘हत्यारा सरकार चाहिँदैन, जनतामा मार्न पाइँदैन’ भन्ने नाराका साथ वीरेन्द्रनगरमा विरोध गरेका हुन्। उनीहरूले सडकमा टायर बालेर सवारी आवागमन अवरुद्ध गरेका थिए।

प्रदर्शनकारीले गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको राजीनामा मागेका छन्। ‘युवा विद्रोह’ नाम दिइएको उक्त प्रदर्शनमा मृतक राउतका आफन्त, विभिन्न सामाजिक संघसंस्थाका अगुवा, विद्यार्थी र पेसाकर्मीको सहभागिता रहेको छ। एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लक्ष्मण शाहीले बताए।

प्रदर्शनकारीले आइतबार १२ बजेदेखि फेरि प्रदर्शन गर्ने र सरकारी नम्बरका कुनै पनि सवारी चलाउन नदिने भएका छन्।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा दुई युवा मारिएका थिए। मृत्यु हुने एक जना दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन राउत हुन् भने अर्का अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका २२ वर्षीय वीरेन्द्र शाह हुन्। उनीहरू दुवै जना कोरियन भाषा अध्ययनका लागि काठमाडौँमा थिए।

बालकुमारी क्षेत्रमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा भाषा परीक्षामा असन्तुष्ट युवा समूहले आगजनी गरेपछि घटनाले हिंसात्मक रूप लिएको थियो।

घटनामा गम्भीर लापरबाही भएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तान्ने निर्णय भएको गरेको छ। यसैगरी ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तान्ने निर्णय भएको छ भने प्रदर्शनका सुरक्षामा खटिएका डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ।

साथै मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका पीएसओ बोधराज दनुवार पनि निलम्बनमा परेका छन्। यसैगरी ईपीएस शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई सरुवा गर्ने निर्णय बैठकले गरेको छ। साथै सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रकाशित: १४ पुष २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =