बुटवलको पुरानो कालिका हल बन्द

विनोद परियार १४ पुष २०८० १८:०८
98
SHARES
बुटवलको पुरानो कालिका हल बन्द

लुम्बिनी- बुटवलकै पुरानोमध्येमा पर्ने कालिका फिल्म हल एक वर्षदेखि बन्द छ। कुनै बेला बुटवलको एक नम्बर चलचित्र हलका रूपमा परिचित कालिका प्रविधिमा आएको परिवर्तन र हलसम्म दर्शक नआएपछि बन्द भएको हो।

बुटवल राजमार्ग चौराहामा २०४१ साल भदौ १५ गतेदेखि सञ्चालनमा आएको यो हल २०७९ पुस १ गतेदेखि बन्द भएको हो प्रविधिमा आएको आमूल परिवर्तनका कारणले हलको स्तरोन्नति गरिए पनि कालिका हल पहिल्यैकै अवस्थामा सञ्चालन नहुने अवस्थामा पुगेको छ।

भवन र प्रविधिसमेत पुरानो भएकाले पुनर्निर्माण सुरु गरिए पनि लगानीका कारणले हल सञ्चालन गर्न नसक्ने अवस्था रहेको चलचित्र हलका सञ्चालक कल्याण द्धवाले बताए। हल पुनर्निर्माणमा ३५ लाख खर्च गरिएको तर अहिलेको समयअनुसार पुनः सञ्चालनमा ल्याउन नसक्ने देखिएपछि स्तरोन्नतिको काम बिचमै रोकिएको उनले बताए।

‘अहिलेको अवस्थाअनुसार हल सञ्चालन गर्दा ६ करोडभन्दा धेरै खर्च आउने भएकाले हल सञ्चालन गर्न नसक्ने अवस्था भयो’, उनले भने। कालिका हलको सिटको पुनर्निर्माणमा मात्रै करिब ४० लाख खर्च लाग्ने उनले सुनाए।

बुटवलको मुख्य चोक राजमार्ग चौराहामा करिब ८ कठ्ठा क्षेत्रफलमा हल छ। द्धवा र बुद्ध चार्च समूहको संयुक्त लागानीमा कालिका चलचित्र मन्दिर प्रालिका नामबाट सञ्चालनमा आएको हो। २०४१ सालमा सुरु गर्दा र अहिले प्रविधिमा निकै परिवर्तन आएको छ। ‘त्यतिखेरदेखि अहिलेको डिजिटल अवस्थासम्म हल परिमार्जन गर्दै चलाइयो। अब चलाउन नसक्ने अवस्था आयो’, द्धवाले भने।

कालिकालाई समय परिवेशअनुसार परिमार्जन गर्दै नयाँ प्रविधि जडान गर्दै सञ्चालन गरिँदै आए पनि अहिले कठिन बनेको हो। हल सञ्चालन गर्दा सुरुमा करिब २५ जना कर्मचारी थिए। गत वर्ष पुससम्म हल सञ्चालन हुँदा ८ जना मात्रै कर्मचारी कार्यरत थिए। दैनिक ज्यालामा काम गर्ने कर्मचारीसमेत थिए। हल बन्द भएपछि दुई जना मात्र सुरक्षा गार्ड राखेर हेरचाह गरिएको छ।

कालिका चलचित्र हलमा प्रविधि नयाँ हुँदाहुँदै पनि पुनर्निर्माणमा खर्च धेरै हुने भएकाले निर्माण कार्य रोक्नुपरेको उनको भनाइ छ। अहिले हलमा सबै सामान लगभग काम नलाग्ने अवस्थामा पुगेको सञ्चालक कल्याणको भनाइ छ।

‘अझै एक वर्ष पर्ख र हेरकै अवस्थामा छु’, उनले भने। एक वर्ष पर्ख र हेरको अवस्थामा रहने र एक वर्षपछि मात्रै हल चलाउनेबारे निर्णय लिने उनले बताए। अहिलेको कालिका चलचित्र हल रहेको ठाउँमा तत्काल अन्य कुनै व्यवसाय गर्नेबारे पनि छलफल भइरहेको उनले बताए। कालिका चलचित्र हल १ हजार ५१ जनाको क्षमताको थियो।

हलले विद्युत्‌को पैसासमेत तिर्न नसक्ने अवस्था रहेकाले घाटाको व्यापारमा द्धवाले रुचि नदेखाएका हुन्। हलहरूलाई मनोरञ्जनअन्तर्गत राख्दा विद्युत्‌को प्रतियुनिट करिब २० रुपैयाँ महसुल तिर्नुपर्छ। त्यसमा डिमान्ड चार्ज ४ हजार २ सय रुपैयाँ थप तिर्नुपर्ने उनको गुनासो छ। हलसम्म फिलिम हेर्न आउने मानिस निकै कम भएका कारण आम्दानी नहुँदा हलहरूलाई विद्युत्‌को बिल तिर्नसमेत गाह्रो हुने गरेको छ।

बुटवलमा कुनै बेला दर्शकको मुख्य रोजाइमा पर्ने कालिका हल बन्द हुनु चलचित्रकर्मीका लागि सुखद खबर नभएको चलचित्र विकास बोर्डका कार्यकारी सदस्य केएल पीडितले बताए।

नेपालमा पुरानो हलहरूले चलचित्र हेर्ने संस्कृतिको जग बसालेको बताउँदै यस्ता हलहरू नियमित बनाउने बारेमा सबै पक्षले सोच्नुपर्ने बताए। उनका अनुसार पछिल्लो समय बुटवल, दाङ, पोखरा, नेपालगन्जलगायतका ठूला सहरमा धमाधम हल बन्द भइरहेका छन्। ‘पुराना हल बन्द भइरहेका छन्। यस विषयमा बोर्डमा छलफल गर्छौँ’, उनले भने।

प्रविधिमा परिवर्तन आउने कुरा समयको आवश्यकता भए पनि पुराना हल बन्द हुँदा त्यसले चलचित्र क्षेत्रमा असर पार्ने चलचित्र पत्रकार संघ रूपन्देहीका अध्यक्ष मोहन न्यौपानेको भनाइ छ। ‘वर्षौँदेखि चलेका हलले स्तरोन्नति गर्नेपर्छ तर, दर्शक र चलचित्रकर्मीसँग जोडिसकेको हल बन्द नगर्दा राम्रो हुन्थ्यो’, न्यौपानेले भने।

बुटवलबाट सञ्चालन भएर बन्द हुने कालिका चलचित्र हल पहिलो भने होइन। ट्राफिकचोकमा रहेको बुटवलको सबैभन्दा पुरानो चलचित्र हल ‘बुटवल चलचित्र मन्दिर’ पनि बन्द भएकै ८ वर्ष भयो। २०७२ सालदेखि यो हल पूर्णतया बन्द छ। २०३५ सालमा राजेश, २०३८ सालमा लक्ष्मी हलका नामबाट सञ्चालन भएको उक्त चलचित्र मन्दिर घुम्तीका रूपमा ठाउँठाउँमा सञ्चालन हुन्थ्यो। २०४१ सालदेखि भने बुटवल चलचित्र मन्दिरका रूपमा सञ्चालनमा आएको थियो। बुटवल चलचित्र मन्दिरको क्षमता ७ सय ५० थियो।

कालिका चलचित्र हल र बुटवल चलचित्र मन्दिरमात्रै बन्द भएका चलचित्र हल हैनन् रूपन्देहीमा सञ्चालन भएकामध्ये देवदहमा सञ्चालन भएको देवदह चलचित्र हल, सालझण्डीको विश्वज्योति, बटौली (पुरानो बुटवल) मा रहेको नील प्रकाश चलचित्र हल छन्। यस्तै भैरहवामा रहेको भगवती चलचित्र हल, भैरहवामा रहेको स्मृति चलचित्र हल र भैरहवामा रहेको सिद्धार्थ चलचित्र हलसमेत बन्द भइसकेका छन्।

प्रकाशित: १४ पुष २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =