दुई विधेयक पारित र दुई ऐन संशोधन गर्दै सकियो बुटवलको हिउँदे अधिवेशन

हिमाल प्रेस १४ पुष २०८० ७:५९
6
SHARES
दुई विधेयक पारित र दुई ऐन संशोधन गर्दै सकियो बुटवलको हिउँदे अधिवेशन

बुटवल- बुटवल उपमहानगरपालिकाको चौधौँ नगर सभा अधिवेशन २ वटा विधेयक पारित र २ वटा ऐन संशोधन गर्दै सकिएको छ।

नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको हो।

नगर शिक्षा ऐन २०७४ र नगर स्वास्थ्य ऐन २०७५ संशोधन गरेको छ भने आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित भएको छ।

बुटवलका २ वटा वडाहरू ११ र १३ मा जनसंख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेस भएको प्रस्ताव बैठकले पारित गरेको छ।

यस्तै, बैठकले कार्यपालिका बैठकबाट भएका निर्णयहरु अनुमोदन र विभिन्न प्रस्तावहरू पारित गरेको प्रमुख पाण्डेयले बताए। सभाले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्नका लागि सबैतहबाट काम अगाडि बढाउन निर्देशन दिएको छ।

बैठकले आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता तय गर्दै समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोहीअनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पारित गरेको छ।

बैठकमा बोल्दै प्रमुख पाण्डेयले बुटवल र बुटवलबासीको भविष्य उज्ज्वल बनाउनका लागि सबै जनप्रतिनिधिहरु एकवद्ध भएर अगाडि बढ्नुपर्ने बताए। उनले बुटवलले विश्वास गरेर निर्वाचित भएको करीब २ वर्ष हुनै लाग्दा धेरै प्रतिवद्धताहरु पूरा हुने क्रममा रहेको बताए।

प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए। उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआईभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए।

उनले शिक्षा क्षेत्रमा बुटवललाई सधै अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताए।

गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगर प्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए।

प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रीकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताए।

बैठकमा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको समृद्धिका लागि सबैतिरबाट साथ र सहयोगको आवश्यकता रहने बताइन्। उनले नगरले तय गरेका लक्ष्य र उपलब्धि हासिल गर्दै अगाडि बढेको बताइन्।

प्रकाशित: १४ पुष २०८० ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =