बुटवलमा बाआमासँग नगरप्रमुख कार्यक्रम सुरु

हिमाल प्रेस २६ माघ २०८० ९:०६
30
SHARES
बुटवलमा बाआमासँग नगरप्रमुख कार्यक्रम सुरु

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम सुरु गरेको छ। बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको सोमबार स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो।

नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरी सेवा दिने उद्देश्यले बाआमासँग नगरप्रमुख कार्यक्रम सुरु गरिएको बताए। कार्यक्रम सुरुभएदेखि दैनिक जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ।

बुधबार वडा नं १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको उपमहानगरले जनाएको छ। यस्तै बिहीबार वडा नम्बर ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको ईसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ।

नगरप्रमुख पाण्डेयले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरूको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिने बताए। उनले घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको बताए ।

नगरप्रमुख पाण्डेयले चालु आर्थिक वर्ष ०८०/८१ को बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको बताए।

नगरका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, फिजिसियन डा.हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए।

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निःशुल्क दिइने उनले बताए । स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधीसमेत प्रदान गरिएको उनको भनाइ छ। उनले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह थपिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =