सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन अनेरास्ववियुको आह्वान

हिमाल प्रेस १४ पुष २०८० ८:२३
10
SHARES
सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन अनेरास्ववियुको आह्वान

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रोजगार अनुमति प्रणालीमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवामाथि सरकारका तर्फबाट भएको दमनको निन्दा गरेको छ।

सरकारका मन्त्री सवार गाडीमा आगजनी भएको निहुँमा बेरोजगारीको पीडाले छटपटिएर सडकमा आएका युवामाथि शुक्रबार भएको प्रहरी दमन र प्रहरी दमनका क्रममा सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको घटनाप्रति अनेरास्ववियुले भर्त्सना गरेको हो। घटनालाई मन्त्री सवार गाडीमा भएको आगजनीका रूपमा नबुझी आमबेरोजगार युवाहरूको पीडाका रूपमा बुझेर आन्दोलनका माग पूरा गर्न अनेरास्ववियुले माग गरेको छ।

साथै अनेरास्ववियुले पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको उपचारको व्यवस्था गर्न र आन्दोलनरत युवाहरूको पिर मर्का बुझी संवादमार्फत समस्याको समाधान खोज्न माग गरेको छ।

अनेरास्ववियुले घटना हुनुको कारण सरकार रहेको जनाएको छ। ‘बालकुमारीमा घटना हुनुमा स्वयं सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ।

देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले यसरी युवाहरूलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसातर्फ धकेल्नसमेत सक्ने हुनाले त्यस तर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न पहल गर्नुको सट्टा दिउसै युवामाथि गोली बर्साउने सरकारको गलत रबैयाको भण्डाफोर गर्न र सशक्त आन्दोलनका लागि तयार रहन पनि अनेरास्ववियुले विद्यार्थीलाई आह्वान गरेको छ।

प्रकाशित: १४ पुष २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =