जलवायु परिवर्तनको मुद्दामा सरकारी र गैरसरकारी क्षेत्र एक हुनुपर्छ : वनमन्त्री डा महतो

हिमाल प्रेस ११ पुष २०८० १३:४०
2
SHARE
जलवायु परिवर्तनको मुद्दामा सरकारी र गैरसरकारी क्षेत्र एक हुनुपर्छ : वनमन्त्री डा महतो

काठमाडौँ- वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन्।

‘विश्व जलवायु सम्मेलनको उपलब्धि र आगामी कार्यदिशा’ विषयक गोष्ठीमा उनले सरकारी र गैरसकारी संस्था एक भएर जलवायु परिवर्तनको मुद्दामा अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले भर्खरै दुबईमा सम्पन्न कोप–२८ मा नेपालले राखेको ‘एजेन्डा’ले विश्वको ध्यानाकर्षण भएको बताए। उनले आफ्ना मुद्दालाई कोपमा नेपालले दरो रूपमा प्रस्तुत गरेको उल्लेख गरे।

मन्त्री डा महतोले जलवायु परिवर्तनका कारण अब आउने दिन विश्वका लागि ठूलो चुनौतीको विषय भएकाले यसबाट जोगिनका लागि सरकारले विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे।

‘जलवायु परिवर्तनको मुद्दामा विदेशीको मुख ताकेरमात्र बस्न हुँदैन’, उनले भने। जलवायु परिवर्तनको क्षेत्रमा आउने पैसा कार्ययोजना नहुँदा खर्चमा समस्या भएको उनको भनाइ थियो।

उनले नेपालले आफूसँग भएको प्रकृतिलाई समृद्धितर्फ जोड्न लाग्नुपर्ने उल्लेख गरे। जलवायु परिवर्तनको मुद्दामा एउटै आवाज लिएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्विज्ञ सल्लाहकार डा गंगालाल तुलाधरले कालापत्थरमा भएको मन्त्रिपरिषद्को बैठक जलवायु परिवर्तनका बारेमा नेपालले विश्वलाई सन्देश दिन खोजेको उल्लेख गरे। संविधानका तीनवटा अनुसूचीमा विपद् व्यवस्थापनको कल्पना गरिएको उनको भनाइ थियो।

प्रकाशित: ११ पुष २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =