वराहक्षेत्र- सप्तकोशी नदीमा झोलुंगे पुल बन्ने भएको छ। सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलंका टप्पु जोडिने झोलुंगे पुलको निमार्ण हुने भएको हो।
संघीय सरकारको ठूला झोलुंगे पुल निमार्ण विभाग अन्तर्गत सप्तकोशीमा साढे पाँच किलोमिटरको झोलुंगे पुल बन्ने भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले जानकारी दिए।
वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट टापुका बस्तीसँग जोडिन कोशीमा झोलुंगे पुल निमार्ण हुने भएको छ। आर्थिक विकास संयोजक गुरुङका अनुसार सप्तकोशी नदीमै पहिलो पटक यति लामो झोलुंगे पुल निमार्णको लागि डीपीआरको काम अन्तिम चरणमा पुगेको छ।
सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद तथा पूर्व सम्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुल योजनामा पारेपछि श्रीलंका टप्पुलाई जोड्न साढे पाँच किलोमिटर लम्बाइको पुल निमार्ण हुने भएको हो।
झोलुंगे पुल सर्भेको लागि ऋषीकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको सब इन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए। सब इन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको छ।
डीपीआरको डिजाइन भने तयार हुन बाँकी रहेको यादवले जानकारी दिए। डिजाइन सकिए लगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताइएको छ। नमुना झोलुंगे पुल नामकरण गरी गत आर्थिक वर्षमा पनि पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो।
टप्पु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनको लागि राम्रो मानिँदै आएको छ। पुल वनेपछि टप्पु बासीको दैनिक जीवनमा सहजता हुने छ। टप्पु बासीले उत्पादन गरेका कृषि उपजहरू बजार लान सहज हुने वराहक्षेत्र वडा नम्बर ६ का वडा अध्यक्ष उद्धव प्रसाद पोख्रेलले बताए। पुलको निमार्ण पछि आन्तरिक पर्यटकहरू घुम्न आउने हुँदा स्थानीयहरूको आयस्रोतमा समेत टेवा पुग्ने बताइएको छ ।
सुनसरी जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टप्पुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीहरू जीविका चलाउँदै आएका छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वाड टप्पु क्षेत्रमा पर्छ।
चारैतिर नदी भएकाले टप्पुवासीहरू यातायातको साधनका रूपमा ढुंगाको प्रयोग गर्दै आएका छन् । टप्पुलाई जोड्ने झोलुंगे पुलको निर्माण हुने भएपछि टप्पु बासीहरूमा खुसीयाली छाएको टप्पुका स्थानीय बद्री राईले बताए।
टप्पु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको छ । श्रीलंका टप्पुमा ४५ सय घर धुरीका १० हजारभन्दा बढीको संख्यामा मानिसहरू बसोबास गर्दै आएका छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

