पिपल्स क्याम्पसले मनायो ४२ औँ वार्षिकोत्सव

हिमाल प्रेस ९ पुष २०८० १७:२३
28
SHARES
पिपल्स क्याम्पसले मनायो ४२ औँ वार्षिकोत्सव

काठमाडौँ- काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसले ४२ औँ वार्षिकोत्सव मनाएको छ। क्याम्पस परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले प्राध्यापक र विद्यार्थीको योगदानले क्याम्पस अहिलेको अवस्थामा आएको बताए।

‘यो संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन विगतमा पनि प्राध्यापक, विद्यार्थीले  योगदान दिनुभयो होला। अब पनि प्राध्यापक र विद्यार्थीको योगदानले संस्थाको गरिमा उचाइमा पुर्‍याउन, क्याम्पसको स्थायित्व र अझ बढी जिम्मेवारी पूरा गर्न सहयोग पुर्‍याउनेमा विश्वस्त हुन सकिन्छ,’ उनले भने।

थापाले पिपल्स क्याम्पस पनि विश्वविद्यालय बन्ने लहरमा रहको बताए। क्याम्पस सञ्चालन गर्दै जाँदा समस्या आउँछ कि आउँदैन त्यतातर्फ सोच्नुपर्ने उनको भनाइ छ।

क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले सीमित साधनस्रोतबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरे। ‘मुनाफारहित यस क्याम्पसले निरन्तर रूपमा गुणस्तरीय शिक्षा दिँदै आएको छ। यसलाई कायम राख्नेमा हामी विश्वस्त छौँ’, उनले भने।

पिपल्स क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको बताए। उनले अन्य क्याम्पसको तुलनामा पिपुल्समा विद्यार्थी संख्या उल्लेख्य रहेको दाबी गर्दै अनुसन्धानात्मक शिक्षामा क्याम्पसले जोड दिएको पनि बताए। त्यसका लागि अनुसन्धान सेल नै गठन गरिएको उनको भनाइ छ।

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थीले क्याम्पसको भौतिकदेखि शैक्षिक अवस्थासम्म सुधार ल्याउन सबैको महत्त्वपूर्ण भूमिका रहेको बताए। कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यसमा आमूल परिवर्तन भएको भनाइ राखे। ‘क्याम्पस स्थापनाकालदेखि यहाँसम्म आउँदा धेरै उतारचढाब आएका छन्। पानी पर्दा क्याम्पस बिदा गर्नुपर्थ्यो’, पन्थीले भने। उनले उच्च शिक्षाका लागि विद्यार्थी किन पलायन भइरहेका छन् त्यसतर्फ सोच्नुपर्ने बेला आइसकेको बताए।  ‘विद्यार्थी पलायन किन हुँदैछन्? अब सोच्ने बेला आएन र? एकअर्कालाई दोष दिएर हुँदैन। विद्यार्थीको आवश्यकता बुझेर देशको नीति बनाउनुपर्छ’, उनले भने।

काठमाडौँ क्षेत्र नं.७ का संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले संघीय शिक्षा ऐनका विषयमा सहभागीहरूसँग सुझाव मागेका थिए। क्याम्पसले दिएको सुझाव आफूले संसदीय समितिमा उठाउने बताए। ‘संघीय शिक्षा ऐन निर्माणका क्रममा छ। यहाँहरूले सुझाव दिनुहोस्। म सम्बन्धित ठाउँमा पुर्‍याउँछु’, उनले भने।

बागमती प्रदेश सांसद वसन्त मानन्धरले पनि गुणस्तरीय शिक्षा दिँदै आएको भन्दै पिपल्स क्याम्पसको प्रश‌ंसा गरे। उनले भने, ‘पिपल्स क्याम्पसले गुणस्तरीय शिक्षा दिँदै आएको छ। अभावकाबीच पनि चर्चा बटुल्न सकेको छ।’

कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य तथा प्रा.डा.त्रिरत्न मानन्धरले युवापुस्ता उच्च शिक्षाका लागि नभई रोजगारीका निम्ति बिदेसिएको बताए। उनले भने, ‘उच्च शिक्षाका लागि युवा बिदेसिए, हाम्रो शिक्षा स्तरीय भएन भन्छन्। यसमा सत्यता छैन। विदेश जानुको मुख्य कारण रोजगारी हो। सरकारले रोजगारीमा ध्यान दिनुपर्छ।’

वार्षिकोत्सवमा कार्यक्रमा २५ वर्षभन्दा बढी अध्यापन गराउने प्राध्यापक तथा सेवा गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको थियो। त्यसैगरी त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।

२०३८ सालमा स्थापना भएको पिपल्स क्याम्पसमा व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पिपल्समा स्नातक र स्नातकोत्तरमा गरी एक हजार ३१० विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: ९ पुष २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =