देउवाले भने : कृष्णप्रसाद भट्टराईको पथमा हिँड्न सके कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन्छ

हिमाल प्रेस ८ पुष २०८० १५:५०
8
SHARES
देउवाले भने : कृष्णप्रसाद भट्टराईको पथमा हिँड्न सके कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन्छ

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्न नसकेको बताएका छन्। भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाले स्वीकारे।

‘सन्त नेता’को छवि बनाएका भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईंको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए।

‘उहाँको विषयमा खोजीनीती हुनुपर्छ। किताब राम्रोसँग लेख्नुपर्छ,’ उनले भने, ‘हामी पार्टीबाट यसमा लाग्ने छौँ।’ उनले भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने बताए। भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए।

‘आर्दशको राजनीति, विधिको शासन र किसुनजी’को योगदान विषयक अन्तर्क्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको समेत बताए।

‘अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ। कमजोर बनाउने कुरा भएको छ। हामी सबै एक भएर लाग्नुपर्छ,’ उनले भने, ‘इतिहास फर्कने कुरा छैन। गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ। यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ।’

सभापति देउवाले भट्टराईको बारेमा जति बोले पनि कम हुने धारणा राखे। २०४७ को संविधान बनाएर राजतन्त्रसहितको प्रजातन्त्र स्थापना गर्दै नेपाली जनतालाई सर्वसत्ता सम्पन्न बनाउन भट्टराईं सफल भएको भनाइ देउवाको थियो। साथै उनले भट्टराई सच्चा ‘त्यागी नेता’ भएको र कुनै दाग लाग्न नसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे।

प्रकाशित: ८ पुष २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =