मिलनचोक–रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरू

हिमाल प्रेस ५ पुष २०८० १४:४९
मिलनचोक–रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरू तस्बिरः शशिधर भण्डारी/रासस

काठमाडौँ– म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक–रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु भएको छ। पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन बिहीबारदेखि परीक्षण सुरू गरिएको हो। यसमा रातोढुंगामा निर्माण भएको ३३/११ केभी क्षमताको सवस्टेशनबाट विद्युत् आपूर्ति गराइएको छ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले एक हप्ताअघिदेखि पहिलो चरणको परीक्षणको काम थालेको थियो। परीक्षणपछि कुुनै समस्या आएन भने डिसेम्बर महिनाको अन्तिमसम्म प्रसारण लाइन र सवस्टेशन सञ्चालन गर्ने तयारी रहेको निर्माण कम्पनी ए टुु जेड इञ्जिनियरिङले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टुु जेडले सन् २०१६ मा ठेक्का लिएको थियो। सवस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरूवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बन्यो। खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सञ्चालन भएको थियो।

चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ।

प्रकाशित: ५ पुष २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =