पर्वत र कास्कीमा विद्युत आपूर्ति थप सहज गर्न पूर्वाधार तयार

हिमाल प्रेस ३ फागुन २०७९ १६:१४
20
SHARES
पर्वत र कास्कीमा विद्युत आपूर्ति थप सहज गर्न पूर्वाधार तयार

काठमाडौँ- नयाँ मोदी-लेखनाथ प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन, मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छे गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन निर्माणको काम सम्पन्न भएको हो।

सो प्रसारण लाइनबाट पर्वत, कास्कीलगायतका जिल्लामा सहज विद्युत आपूर्ति हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। साथै मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पनि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको प्राधिकरणको भनाइ छ।

आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गतवर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।
लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘कोभिड–१९ महामारी, लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको विभिन्न ठाउँका स्थानीयबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण प्रभावित भएको थियो,’ घिसिङले भने, ‘आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।’

प्रसारण लाइन बनेपछि त्यसक्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको घिसिङको भनाइ छ। जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिने उनले बताए।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत् आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ। पोखराबाट त्यसक्षेत्रमा विद्युत आपूर्ति लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो। लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यसक्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ। लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन्। सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ३३ केभीको एउटा लाइन र चारवटा ११ केभीका फिडरहरू निर्माण गरिएको छ। कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण रहेको छ।

प्रकाशित: ३ फागुन २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =