नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन चाँडो बनाउन प्राधिकरणको ताकेता

हिमाल प्रेस १२ चैत २०७९ १५:०५
4
SHARES
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन चाँडो बनाउन प्राधिकरणको ताकेता

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण सम्पन्न गर्न ताकेता गरेको छ। तामाकोसी-काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको उक्त खण्ड निर्माण सम्पन्न गर्न प्राधिकरणले ताकेता गरेको हो।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले चाँडै निर्माण सम्पन्न गर्न ताकेता गरिएको जानकारी दिएको छ।

नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभीए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी रहेको प्राधिकरणको भनाइ छ।

रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ। रामेछाप, दोलखा र सिन्धुपाल्चोक भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ। ७३ वटा टावर खडा गरिएको छ।

२० किलोमिटर तार तानिएको छ। ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ। रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ।

दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन।

अधिग्रहण गरिने जग्गाका लागि २०७७को पुसमा प्रतिरोपनी १० लाख रुपैयाँका दरले मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीहरूबाट निर्माणको काममा अवरोध भइरहेको प्राधिकरणको भनाइ छ।

सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ। त्यस्तै ३ वटा टावर खडा गरिएको छ। भौगोलिक रूपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरू निर्माणका लागि टावर निर्माणस्थलसम्म पु¥याउन पहुँच सडक खन्ने काम भइरहेको छ। नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत छ।

प्रकाशित: १२ चैत २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =