पर्वतमा प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध

हिमाल प्रेस २३ फागुन २०७९ १५:२८
10
SHARES
पर्वतमा प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध

काठमाडौँ- कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा तीन वर्षदेखि अवरोध भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको उक्त प्रसारण लाइनको रुट सार्न माग गर्दै स्थानीयले तीन वर्षदेखि अवरोध गर्दै आएका छन्।

प्रसारण लाइन निर्माण थालिएको रुटमा पर्वतको देवीस्थानस्थित विद्यालय र रंगशाला रहेका छन्। विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले निर्माणमा अवरोध गरिरहेका छन्।

स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन नसकेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले समस्या सामाधानका लागि पहल थालेको पनि बताएको छ।

पहलस्वरूप प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण रस्थानीयसँग छलफल गरेका छन्। प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास–६ देवीस्थानको स्थलगत निरीक्षण गरेका हुन्।

टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम बिक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललगायतको सहभागिता थियो।

टोलीले प्रसारण लाइन निर्माणस्थलको निरीक्षण गरी स्थानीय बासिन्दाहरूसँग पनि छलफल गरेको छ। टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसङले बताए।

प्रसारण लाइन अभावमा जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न नसकिएको र यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गरिदिन अनुरोध गरिएको घिसिङको भनाइ छ।

प्रसारण लाइनको टावर सार्न सम्भव भएनभएको विषयमा प्राविधिक टोलीले पाँच दिनभित्र सर्वेक्षण गर्ने सहमति पनि स्थानीयसँग गरिएको घिसिङको भनाइ छ। ‘प्रसारण लाइनकै तल विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट विद्यालय नपर्ने देखिएको छ’ घिसिङले भने, ‘सर्वेक्षण सकिएपछि विद्यालयलाई ध्यानमा राखी प्राविधिक रूपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ। रंगशालाभन्दा तल भीर रहेकोले टावर धेरै तलसम्म लैजाने सम्भावना पनि देखिँदैन।’

विद्यालयलाई जोगाएर प्राविधिक रूपमा सम्भव भएसम्म रंगशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ थियो।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको थियो।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये फलेवासमा पर्ने चार टावरको निर्माण बाँकी छ। प्रसारण लाइन निर्माण असारभित्र सक्नेगरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताए।

प्रकाशित: २३ फागुन २०७९ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =