रेस्टुरेन्टले भरिँदै करिडोर

रमेश भारती ४ पुष २०८० १६:२३
38
SHARES
रेस्टुरेन्टले भरिँदै करिडोर

काठमाडौँ- साँझ पर्नेबित्तिकै राजधानीका धोबीखोला र बागमती किनारा क्षेत्रमा चहलपहल बढ्छ। झिलिमिली बत्ती बल्न थाल्छन्। सवारीसाधनको आवागमन बाक्लो हुन थाल्छ। मानिसहरू गीतसंगीतको गुञ्जनतर्फ आकर्षित हुन्छन्।

करिडोर क्षेत्रमा केही वर्षदेखि नयाँनयाँ परिकारका रेस्टुरेन्ट खुलेपछि मानिसको जमघट देखिन थालेको हो। बागमतीको गौशाला, शान्तिनगरदेखि थापाथलीसम्म करिडोर रेस्टुरेन्ट व्यावसायिक रूपमा विस्तार भइरहेका छन्।

साँझपख यी क्षेत्रमा रमाइलो गर्न आउने ग्राहकको भीड लाग्ने गरेको व्यवसायीहरू बताउँछन्। भित्री सडकको विकल्पमा साना सवारीसाधन यही बाटो भएर गुड्न थालेका छन्। केही वर्षअघिसम्म फोहोरको थुप्रो रहेको नदी किनारमा सडक निर्माण भएपछि सहरको रूप फेरिएको छ। अहिले त्यही ठाउँ सहरवासीका लागि खानपिन गर्ने उपयुक्त थलो बनेको छ। धोबीखोलामा पनि भत्केको पुलदेखि बुद्धनगरसम्म रेस्टुरेन्ट खुलेका छन्।

वैदेशिक रोजगारी, विदेश अध्ययन र विदेशमै बसोबास गरेका व्यक्तिहरू खोलाकिनारको रेस्टुरेन्टमा रमाइलो गर्न रुचाउने व्यवसायीहरूको अनुभव छ। आकर्षक तरिकाले सजाइएका रेस्टुरेन्टमा तस्बिर खिच्ने र रमाइलो गर्ने ग्राहक पनि उत्तिकै देखिन्छन्। करिडोरमा क्षेत्रमा रेस्टुरेन्टका सञ्चालकहरू वैदेशिक रोजगारीबाट फर्किएका र विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरू धेरै रहेको बार्दली रेस्टुरेन्टका सञ्चालक रमेश खड्का बताउँछन्।

लन्डनमा तीन वर्ष बसेर स्वदेश फर्किएका रमेशले नेपालमा नयाँ शैलीको रेस्टुरेन्ट खोल्ने इच्छा थियो। विदेशमा बस्दादेखि बनाएको योजनाअनुसार रेस्टुरेन्ट खोलेको उनले बताए। खड्काले सन् २०२१ मा बार्दली रेस्टुरेन्ट खोलेका हुन्।

‘मलाई सानैदेखि रेस्टुरेन्ट व्यवसायप्रति रहर थियो। लन्डनमा केही समय काम गरेर फर्किएपछि बार्दली रेस्टुरेन्ट खोलेको हुँ। अहिलेसम्म ग्राहकले माया गरेका कारण व्यवसाय चलेकै छ’, उनले भने। उनको बुझाइमा नेपालमा पछिल्ला दिनम रेस्टुरेन्ट व्यवसाय फस्टाइरहेको छ।

उनको रेस्टुरेन्टमा नेपालका रैथाने खाना, भारतीय, चिनियाँ र ग्राहकको मागअनुसारका परिकार बन्ने गरेका छन्। उनले एउटै नाममा दुईवटा रेस्टुरेन्ट खोलेका छन्। एउटा धोबीखाला किनारमा र अर्को शंखमुलस्थित बागमती किनारमा छ। गाढाका दुईवटा चक्का र हलोमध्ये एउटा शंखमुलको बार्दली अर्को धोबीखोलाको बार्दलीमा राखिएको खड्काले जानकारी दिए।

रेस्टुरेन्ट व्यवसायको महत्त्व बढ्दै गएको र ग्राहक पनि आउन थालेको व्यवसायीहरू बताउँछन्। ठूला होटलमा भन्दा मान्छे खुला वातावरण भएको रेस्टुरेन्टमा जान रुचाउँछन्। थोरै आम्दानी भएकाहरू पनि विभिन्न परिकारको स्वाद लिन आउने गरेको खड्का बताउँछन्।

अर्घाखाँची सन्धिखर्कका तीन युवा दीपक पौडेल, सुदन बञ्जाडे र जनक क्षेत्री मिलेर काठमाडौँको बुद्धनगरस्थित करिडोरमा रेल स्टेसन रेस्टुरेन्ट खोलेका छन्। रेस्टुरेन्टमा फोटो खिच्न, भिडियो बनाउन र रमाइलो गर्न धेरै ग्राहक आउने गरेको उनीहरू बताउँछन्।

रेलकै झल्को दिनका लागि रेस्टुरेन्टमा रेलको स्टेसनसमेत राखिएको सञ्चालक दीपकले जानकारी दिए। नेकपा एमालेका अध्यक्ष केपी ओलीले रेलको चर्चा गरिरहेका रहेको रेल स्टेसनका परिकल्पना गरिएको उनी बताउँछन्। उनले भने, ‘रेल नआए पनि रेल स्टेसन रेस्टुरेन्ट भने आएको छ। रेल स्टेसनमा अन्य रेस्टुरेन्टमा पाइने सबै परिकारका खानेकुरा पाइन्छ। त्यहाँ बस्दा रेलको झल्को समेत दिन्छ’, उनले भने।

अब रेस्टुरेन्टमा भारतका विभिन्न सहरमा रहेका रेल स्टेसनमा अवस्थित रेस्टरेन्टमा पाइने परिकार बनाउने योजना रहेको दीपक बताउँछन्। उनी भन्छन्,’नेपालमा पाइने सबै परिकारका रैथाने खानेकुरा बनाउने तयारीमा जुटेका छौँ।’

करिब एक करोड लगानीमा रेल स्टेसन सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ। दीपकका अनुसार हाल सीमित खानाको मेनु उपलब्ध भएकोमा आगामी दिनमा ग्राहकको रोजाइअनुसारका अन्य परिकारसमेत उपलब्ध गराइनेछ। रेल स्टेसनमा पकौडा, मालपुवा र चिया खान पाइन्छ।

करिडोरभित्र मात्र करिब तीन सय होटल र रेस्टुरेन्ट सञ्चालनमा छन्। यी रेस्टुरेन्टमा दुई हजारभन्दा बढीले रोजगारी पाएको व्यवसायी बताउँछन्। यिनमा केही कफी सप छन् भने केही मम मात्रै पाइने पसल छन्। यस्तै सेकुवाका पारिखीहरूका लागि पनि करिडोरमा स्तरीय रेस्टुरेन्ट सञ्चालनमा आएका छन्।

काठमाडौँमा मात्रै होइन ललिपुर र भक्तपुरभित्रका खोला किनारमा समेत रेस्टुरेन्ट खोल्न क्रम सुरु भएको छ। करिडोरमा खुलेका रेस्टुरेन्टमा ग्राहकको आकर्षण बढे पनि नदीको दुर्गन्धले भने निकै सताउने व्यवसायी बताउँछन्।

बढ्दो रेस्टुरेन्ट ‘कल्चर’

स्वाद र सेवामा फराकिलो बन्दै गोरेटो

प्रकाशित: ४ पुष २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =