स्वाद र सेवामा फराकिलो बन्दै गोरेटो

रमा केसी २ पुष २०८० १९:०९
322
SHARES
स्वाद र सेवामा फराकिलो बन्दै गोरेटो

सुर्खेत- प्रदेश राजधानी हुनुअघि सुर्खेतमा होटल–रेस्टुरेन्टको संख्या नगण्य थिए। बाहिर खाना खाने, जन्मोत्सवलगायतका शुभकार्यमा जमघट गर्ने ठाउँ त्यति थिएनन्। भएका रेस्टुरेस्टमा त्यति सुविधायुक्त हुन्नथे।

पछिल्लो समय भने सुर्खेतमा पनि नयाँनयाँ परिकार पाइने रेस्टुरेन्ट खुल्न थालेका छन्। यसले सहरमा रेस्टुरेन्ट ‘कल्चर’ बढ्न थालेको छ भने व्यवसाय पनि फस्टाउन थालेको व्यवसायीहरू बताउँछन्।

कर्णालीको राजधानी सुर्खेतमा गीतगजल, साउना, स्टिम, फुटसल, स्पा, सलोन, र्‍याफ्टिङ, ज्याकोज्यासहितका रेस्टुरेन्टमा खानाका पारखीहरूको आकर्षण बढ्न थालेको छ।

यस्तै रेस्टुरेन्टमध्येको एउटा हो गोरेटो रेस्टुरेन्ट। गोरेटोले पारिवारिक वातावरणमा मनोरञ्जनका साथै स्वस्थ खानपान पाइने भएकाले रेस्टुरेन्ट सुर्खेतवासीको रोजाइमा परेको छ।

कामले थाकेको समयमा परिवारसँगै बसेर खानुको साथै सबै सेवा एकै ठाउँमा पाइने भएकाले पनि गोरेटो रेस्टुरेन्ट छनोटमा परेको हो। गोरेटोमा कर्णालीका मात्र नभई बेलाबेलामा अन्य प्रदेशबाट पनि मानिसहरू आउने गरेको सञ्चालक ज्योति कटुवाल बताउँछिन्।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा रहेको यस रेस्टुरेन्टमा दैनिक लाइभ म्युजिक, साउना, स्टिम, फुटसल, स्पा, सलोन, र्‍याफ्टिङ, ज्याकोज्या रहेकाले मानिसहरू पारिवारिक भेटघाट तथा उत्सव मनाउन पुग्ने गर्छन्। सुन्दर पर्यटकीय स्थल रारा घुम्नका लागि पुग्ने पर्यटक पनि आउने गरेको कटुवाल बताउँछन्। कर्णाली क्षेत्रको भ्रमणमा आएका विदेशी पनि आफ्नो रेस्टुरेन्टमा आउने गरेको उनी बताउँछिन्।

झन्डै चार करोड लागतमा खुलेको रेस्टुरेन्टमा २० युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनी भन्छिन्, ‘जताततै आर्थिक मन्दी छ भनिन्छ। तर हाम्रो व्यवसायमा भने सन्तोषजनक रूपमै चलेको छ। गोरेटो रेस्टुरेन्टको मासिक आम्दानी २० देखि २५ लाखसम्म हुने गरेको सञ्चालहरू बताउँछन्।

गोरेटोमा मानिसहरूको आकर्षण बढेपछि अन्य जिल्लामा पनि यसको शाखा खोल्ने तयारी रहेको छ। नेपालगन्ज, धनगढी र काठमाडौँमा सेवा विस्तार गर्न लागिएको सञ्चालक कटुवालले बताइन्।

अहिले रेस्टुरेन्ट भएको ठाउँमा पर्यटन व्यवसायी हरि विष्टले फुटसल खेलाउँथे। उनले त्यहाँ सम्भावना देखेर रेस्टुरेन्ट खोलेको बताए। उनी भन्छन्, ‘फुटसलमा जमघट भइरहने भएकाले मानिस यो ठाउँमा चहलपहल हुन्थ्यो।’

कर्णालीलाई चिनाउन, व्यावसायिक रूपमा माथि उकास्न र कलाकारिता क्षेत्रलाई अगाडि बढाउन आफूले रेस्टुरेन्ट रोजेको विष्टको भनाइ छ। यसका साथै पर्यटन व्यवसाय पनि मौलाउने विश्वास उनले व्यक्त गरेका छन्।

गोरेटो मानिसहरूको जन्मदिन, वैवाहिक वार्षिक उत्सव, बिदाइ तथा स्वागत कार्यक्रमका लागि पनि उपयुक्त थलो बनेको छ। त्यति मात्र होइन, यहाँ विभिन्न पर्वमा प्रायः जमघट देखिन्छ।

साथीभाइसँगै जन्मदिन मनाउन गोरेटो पुगेकी अस्मिता सुनार भन्छिन्, ‘गोरेटोमा जन्मदिन मनाउँदा लाइभ म्युजिकका साथै राम्राराम्रा फोटा पनि खिच्न पाइन्छ। पारिवारिक वातावरण भएकाले खानेकुरा मिठो छ।’

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पर्यटन प्रवद्र्धनका लागि यस्ता खालका रेस्टुरेन्टहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन्। उद्यमशीलतामा टेवा पुर्‍याउनुका साथै कर्णालीको आर्थिक र स्वरोजगारका क्षेत्रमा पनि रेस्टुरेन्टले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

उनी भन्छन्, ‘ग्राहकको रोजाइअनुसार सेवा दिन सकेमा यस्ताखाले रेस्टुरेन्ट अरू पनि सञ्चालनमा ल्याउन सकिन्छ। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष उल्लेख्य रोजगारी सिर्जना गरेर आर्थिक समृद्धिमा पनि टेवा पुग्छ।’

होटल व्यवसाय फस्टाएमा वीरेन्द्रनगर प्रदेश राजधानी मात्रै नभएर रारा, फोक्सुण्डो, पञ्चकोशीलगायतका पर्यटकीय क्षेत्र प्रवेश गर्ने केन्द्र भएकाले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यवसायीको छ।

यस्तै कर्णाली प्रदेश होटल व्यवसायी संघका अध्यक्ष ऐनबहादुर शाही सुर्खेतमा यस्ता खालका होटेल तथा रेस्टुरेन्ट थप आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘कर्णालीको पर्यटन प्रवद्र्धन गरी यहाँको पहिचानलाई माथि उठाउन यस्ताखालका रेस्टुरेन्टको महत्त्वपूर्ण भूमिका हुन्छ।’ यसका लागि भौतिक विकासको पनि उत्तिकै आवश्यक छ। विमानस्थल, बाटोघाटो र अन्य पूर्वाधारको विकास भएमा मानिसको आकर्षण बढ्छ। यस्ता व्यवसय फस्टाउँछन्।’

बढ्दो रेस्टुरेन्ट ‘कल्चर’

प्रकाशित: २ पुष २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =