युक्रेनी सेनासँग भाग्दा पनि बचेनन् टीकापुरका भरत शाह

रमेश भारती २ पुष २०८० १६:०१
560
SHARES
युक्रेनी सेनासँग भाग्दा पनि बचेनन् टीकापुरका भरत शाह

काठमाडौँ- कैलालीको टीकापुर नगरपालिका-१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा ज्यान गएको छ। चार महिनाअघि रुसी सेनामा भर्ती भएका शाहको मंसिर १० गते मृत्यु भएको थियो। परिवारले तीन हप्तापछि मात्र खबर पाएका थिए। शव आउने टुंगो नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

भरतको शव आउने टुंगो नभएकाले आइतबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको उनका बुबा कुलबहादुर शाहले जानकारी दिए। उनले भने, ‘रुसमा छोराको मृत्यु भएकफ खबर आयो। त्यहाँबाट शव ल्याउन सम्भव हुँदैन भनेपछि कुशको शव बनाएर अन्त्येष्टि गरेका हौँ।’

भरतको मृत्यु भएको खबर उनीसँग घाइते भएर बाँचेका पोखराका एकजना साथीले सुनाएको उनका ठुलाबाको छोरा बिर्ख शाहले हिमाल प्रेसलाई जानकारी दिए।

भरत परिवारका माइलो छोरा हो। उनको परिवार नयाँ टीकापुरमा खेतीपाती गरेको जीविकोपार्जन गर्दै आएको छ। भरतका बाआमा, श्रीमती, ८ वर्षको छोरा र तीन महिनाकी छोरी छन्। भरतकै कमाइको भरमा परिवार चलेको बिर्खले जानकारी दिए। पूर्वप्रहरी भरत गत भदौमा यूएईबाट रुस गएको परिवारको अनुमान छ। उनी यूएई प्रहरीमा कार्यरत थिए। दलालको लहैलहैमा लागेर भरत रुसी सेनामा गएको शंका परिवारको छ।

भरतको मृत्यु खबर सुनेपछि परिवार शोकमा डुबेको छ। भरतकी श्रीमती भद्रा किरिया बसेकी छन्।  ‘यूएई प्रहरीमा कार्यरत थियो। मासिक १ लाख २० हजार कमाउँदै थियो। खोइ किन रसिया गयो? थाहा भएन’, कुलबहादुरले भने।

भरत युरोपका कुनै देशमा जाने तयारीमा थिए। पोल्यान्ड वैदेशिक रोजगारीमा जाने भएपछि एक वर्षअघि मात्र यूएईबाट घर आएका थिए। तर उनी अन्तिममा रुस पुगेपछि मात्र परिवारले थाहा पाएका थिए।

बिर्खका अनुसार युक्रेनी सेनासँग भएको युद्धमा घाइते भएर तीन घण्टा घिस्रिए भाग्दा पनि फेरि उनलाई युक्रेनी सेनाले गोली हानेका थिए रे। भरतलाई खुट्टा र गर्धनमा गोली लागेका कारण भाग्दै गर्दा युक्रेनी सेनाले फेरि गोली हानेर ढालेको साथीले परिवारमा जानकारी गराएको उनले बताए। ‘मान्छे मर्ने र मार्नेभन्दा अर्को काम त्यहाँ हुँदैन रे। भाइले परिवारसँग गत मंसिर पहिलो साता यस्तै भनेका रहेछन्। दाइसँग रुसी सेना भर्ती हुन गएका धेरै नेपालीले ज्यान गुमाइसकेको उनका साथीले हामीलाई भनेका थिए’, बिर्खले भने।

शाहको घर।

कुलबहादुरका तीन छोरामध्ये अन्य दुई जना वैदेशिक रोजगारीमा छन्। उनका अनुसार जेठो रोमनिया र कान्छो मलेसियामा कार्यरत छन्। छोराहरू वैदेशिक रोजगारीमा गएपछि परिवार अछामबाट कैलालीको नयाँ टीकापुर बसाँइ सरेको उनको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी संसद्‌मा गराएका थिए। मस्कोस्थित नेपाली दूतावासका अनुसार रुसी सेनामा एक हजारभन्दा बढी नेपाली भर्ती भएको अनुमान छ।

रुसी सेनामा भर्ती भएका नेपालीहरू युरोप र यूएईबाट त्यहाँ पुगेका हुन्। रुसी सेनामा नेपाली भर्ना भएको विषयलाई त्यहाँको राष्ट्रपति कार्यालयले अस्वीकार गरेको छ। नेपाल सरकारले युद्धमा मारिएकाको परिवारलाई क्षतिपूर्ति दिन, नेपालीलाई सेनामा भर्ती नगर्न र भर्ना गरेकालाई फिर्ता पठाउन आग्रह गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौँस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रूपमा राख्दै आएका छन्। तर रुसी सरकारले त्यसमा ध्यान दिएको छैन भने सेनामा नेपाली भर्ती गराउने प्रक्रिया पनि रोकेको छैन।

रुस-युक्रेन युद्धमा भरतसहित ७ जनाको मृत्यु भइसकेको छ। मस्कोस्थित नेपाली दूतावासले सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१, कपिलवस्तु), देवान राई (पोखरा), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६, दोलखा) र गंगाराज मोक्तान (इलाम-५, इलाम) मृत्यु भएको पुष्टि गरेको छ। एक सयभन्दा बढी घाइते भएको दूतवासको अनुमान छ।

प्रकाशित: २ पुष २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =