रुसी सेनामा भर्ना भएका तनहुँका आठजना सम्पर्कविहीन

हिमाल प्रेस २८ फागुन २०८० १४:५१
4
SHARES
रुसी सेनामा भर्ना भएका तनहुँका आठजना सम्पर्कविहीन रुसी सेना।

तनहुँ- भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठजना सम्पर्कविहीन भएका छन्। व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन्।भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन्। खोजीका लागि परिवारले निवेदन दिएका छन्।

सुरक्षित आप्रवासन कार्यक्रम तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिइन्।

उनले भनिन्,‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सातजना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एकजना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरूको परिवारजनले निवेदन दिनुभएको छ। उहाँहरूको खोजीका लागि प्रयास गर्ने हो।’ परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएको उनले बताइन्।

उनले भनिन्,‘रुसमा दूतावास भएको भए सहजरूपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौँ। तर प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन। दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौँ। खोजतलासीमै छौँ प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ।’ गैरकानुनी रूपमा गएकाले पूर्णरूपमा काम गर्न सहज  नभएको उनकाे भनाइ छ।

आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको बताइन्। सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताइन्।

युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ। दुई/तीन महनिायतादेखि परिवारसँग नै उनीहरू सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ।

भिजिट भिसामा अवैधानिक बाटोमार्फत गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन्। अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ।

प्रकाशित: २८ फागुन २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =