विवाहपञ्चमी महोत्सवअन्तर्गत रामजानकी विवाह सम्पन्न

हिमाल प्रेस २ पुष २०८० १०:३८
14
SHARES
विवाहपञ्चमी महोत्सवअन्तर्गत रामजानकी विवाह सम्पन्न

जनकपुरधाम-  जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात् आइतबार राति भगवान् रामजानकीको विवाह सम्पन्न भएको छ। रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएको हो।

वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गरेका थिए। महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए।

वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधुसन्त, जनप्रतिनिधिहरू, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणालगायतको उपस्थिति थियो।

सोमबार रामकलेवा विधिसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव समापन हुनेछ। रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई भोजन गराएर बिदा गर्ने परम्परा छ। यसअघि आइतबार विवाहपञ्चमी महोत्सवअन्तर्गत रंगभूमि मैदान १२ बिघामा स्वयंवर सम्पन्न भएको थियो। स्वयंवरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो।

जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चोथौ दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैटौँ दिन वैवाहिक कार्यक्रम सम्पन्न भइसकेको छ।

प्रकाशित: २ पुष २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =