मन्त्रीलाई पत्र बुझाउँदै विनोद चौधरीले भने– उखुको समर्थन मूल्य छिटो तोक्नुस्

हिमाल प्रेस १ पुष २०८० १५:५२
8
SHARES
मन्त्रीलाई पत्र बुझाउँदै विनोद चौधरीले भने– उखुको समर्थन मूल्य छिटो तोक्नुस्

काठमाडौँ– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

उखु उत्पादनमा लागि पकेट क्षेत्र मानिने नवलपरासी पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले कृषि तथा पशुपक्षी विकासमन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन्।

उनले पत्रमार्फत भनेका छन्– ‘नवलपरासी जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतीतर्फ साह्रै उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो। चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिनुपथ्र्यो। तर हालसम्म पनि मूल्य नतोक्दा यस क्षेत्रका किसान अन्योल र मर्कामा परेका छन्।’

सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरूले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन्।

कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषिमन्त्री बेदुराम भुसाललाई लिखित ध्यानाकर्षण गराएका हुन्। उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको बाँकी रकम पनि समयमै भुक्तानी गराउन मन्त्रीसँग माग राखेका छन्।

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका अधिकांश उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन्। कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन्।

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रतिमेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो। जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

 

प्रकाशित: १ पुष २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =