जनकपुरमा रामजानकी विवाहको उल्लास

नेहा झा १ पुष २०८० ११:००
24
SHARES
जनकपुरमा रामजानकी विवाहको उल्लास जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

जनकपुरधाम- विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडिदेखि नै मिथिलाञ्चलको घरघरमा रामजानकी विवाहसँग सम्बन्धित गीत गुञ्जिन थाल्छन्। रामजानकीको विवाह हुने स्थल जानकी मन्दिर सजाउने कार्य पनि एक महिनाअगाडि सुरु हुन्छ।

त्रेतायुगको झझल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न देशविदेशबाट लाखौँ दर्शनार्थी जनकपुरधाम पुग्ने गर्छन्। जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा विवाह पञ्चमीका दिन वैवाहिक कार्यक्रम आयोजना हुने गर्छ। जसरी छोरीको बिहेका लागि मण्डप सजाइन्छ त्यसरी नै रामजानकी विवाहका लागि मण्डप सजाइन्छ।

आइतबार विवाह पञ्चममीको मुख्य दिन हो। यसै अवसरमा जानकी मन्दिर र राम मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ। जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आफूलाई छोरीको बिहे आयोजना गरिरहेको जस्तै अनुभव भएको प्रतिक्रिया दिए। महन्थ दास सीताका पिता राजा जनकको भूमिकामा हुन्छन्।

राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन्। उनी भन्छन्, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वाभाविक हो।’ यसरी मनाइन्छ विवाह महोत्सव :

नगर दर्शन : त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ। जसमा राम लक्ष्मणको प्रतीकलाई जनकपुरधाम नगर दर्शन गराइन्छ।

फूलबारी लीला : विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो। फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेता युगमा भगवान् रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजामाई मन्दिरको प्रांगणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ। यस विधि यस वर्ष जानकी मन्दिरकै प्रांगणमा रामलीला आयोजना गरी फूलबारी लीला देखाइएको थियो।

धनुषयज्ञ : तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँग आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुषयज्ञको आयोजन गरिएको मानिन्छ। त्रेता युगमा सो धनुषयज्ञको आयोजन रंगभूमि मैदान १२ बिघामा भएको मानिन्छ। सोही स्मरणमा धनुषयज्ञ विधि सम्पन्न गरिन्छ।

तिलकोत्सव : महोत्सवको चौथो दिन राम मन्दिरको प्रांगणमा हजारोको भीडका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउँछ। जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरी बीच अंकमाल (सम्धीमिलन) हुन्छ। तिलकोत्सवमा सहभागी महिला रामजानकीको बिहेका गीत गाउँछन् भने हासपरिहासको वातावरणसमेत हुने पुजारी ऋषिकेश झा बताउँछन्।

राम मन्दिरका महन्थ राम गिरीका अनुसार सम्धीमिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पुजारीहरू सहभागी हुन्छन् भने राम मन्दिरबाट महन्थ, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधि सहभागी हुन्छन्।

मटकोर : महोत्सवको पाँचौँ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझमा गीत गाउँदै माटो खनेर ल्याउँछन्। सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ।

स्वयंयर तथा विवाह : छैटौँ दिन आइतबार ऐतिहासिक रंगभूमि मैदानमा स्वयंवर विधि  र वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा लगिन्छ। स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुर्‍याइन्छ जहाँ रातभरि वैवाहिक कार्यक्रम हुन्छ।

राम कलेवा : विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा जन्तीलाई गालीगलौज गर्ने परम्परा छ। मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्छन्। यस वर्ष अयोध्या निमन्त्रणा नपठाइएकाले राम मन्दिरकै पुजारी तथा साधुसन्तहरूलाई सहभागी गराएर यो विधि सम्पन्न गरिने महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

प्रकाशित: १ पुष २०८० ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =