कोशी पुग्दै एमालेको संकल्प यात्रा, कार्यक्रम बिथोल्ने पहिचानवादीको चेतावनी

हिमाल प्रेस २६ मंसिर २०८० १३:३०
14
SHARES
कोशी पुग्दै एमालेको संकल्प यात्रा, कार्यक्रम बिथोल्ने पहिचानवादीको चेतावनी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आयोजित सभामा कार्यकर्तालाई अभिवादन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर स्रोत : ओलीको सचिवालय

काठमाडौँ- नेकपा एमालेले सुरु गरेको झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मंगलबार कोशी प्रदेश पुग्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको संकल्प यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रदेश प्रवेश हुँदैछ। सोमबार राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो।

मंगलबार सिन्धुलीको खुर्कोट र उदयपुरको घुर्मीमा सभा सकेर टोली खोटाङको दिक्तेल पुग्ने कार्यतालिका छ। एमालेको संकल्प यात्रा कोशी प्रदेश गर्दै गर्दा पहिचानवादीहरूले कोशीका विभिन्न जिल्लामा विरोधका कार्यक्रम गरिरहेका छन्। उनीहरूले एमालेको संकल्प यात्रा बिथोल्ने चेतावनी दिएका छन्।

पहिचानवादीले २६ र २७ गते मध्यपहाडी मार्गमा पर्ने घुर्मी-च्याङ्थापु सडक बन्द आह्वान गरेका छन्। मध्यपहाडी मार्गमा पहिचानवादीको आन्दोलन जारी रहेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले जानकारी दिए। उदयपुरको घुर्मीमा मंसिर २६ गते गर्ने कार्यक्रमको तालिकामै जुधाएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘पहिचानवादीले प्रदेश १ को कोशी नामकरण सच्याउन माग राखेर आन्दोलन जारी राखेको छ। हामी कुनै पनि पहिचानविरोधी पार्टीका नेताहरूको कार्यक्रम अवरोध गर्नेछौँ।’

एमालेले पहिचानवादीमाथि आक्रमण गर्ने र पहिचानवादीको पहिचान नभएजस्तो अभिव्यक्ति दिएका कारण अहिलेका घटना भइरहेको उनले बताए। कोशी नामका पक्षमा मतदान गर्ने सबै पार्टीका कार्यक्रम अवरोध गर्दै आएको उनको भनाइ छ। पहिचानवादीको पूर्वघोषित कार्यक्रममा सरकारले बल प्रयोग गरे त्यसको नतिजा नराम्रो व्यहोर्नुपर्ने चेतावानीसमेत उनले दिएका छन्।

‘कोशीमा पहिचानको विरोधमा बोल्ने व्यक्ति र पार्टीलाई छाडिँदैन। एमालेले पहिचानवादीको अपमान गरेको छ। अध्यक्ष केपी ओलीले नै आक्रमण गर्न बाध्य बनाएका छन्’, उनले भने।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट  सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम छ।

अवरोध नगर्न एमालेको अपिल

यसैबीच एमालेले कोशीमा हुने संकल्प यात्राको कार्यक्रम अवरोध गर्न पहिचानवादीलाई आग्रह गरेको छ। झुलाघाट-चिवाभन्ज्याङ यात्रामा अवरोध नगर्न एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपिल गरेका हुन्। गौतमले  बन्दलगायतका गतिविधि नगर्न पहिचानवादी संगठनलाई आग्रह गरेका छन्।

गौतमले एमालेको संकल्प यात्रामा शन्तिपूर्ण रूपमा सम्पन्न हुने बताए। ‘एमाले सबै पहिचानवादीमाथि सम्मानपूर्ण व्यवहार गर्दै आएको छ। अहिले कुनै पार्टी र व्यक्तिले उचालेको भरमा एमालेमाथि पहिचावादीले आक्रमण गरिरहेको छ’, उनले भने।

उच्च सुरक्षा सतर्कता

कोशी प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्ने भएपछि कोशी प्रदेश सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। एमालेको यात्रा रुटमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। यस क्रममा ओखलढुंगा प्रवेशद्वार सुनकोशीको पुलबाटै सुरक्षाकर्मीको परिचालन गरिएको छ।

अभियानको रुट र सभास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालित भएको कोशी प्रदेश प्रहरीले जनाएको छ। एमालेले पहिचानवादीको आक्रमण हुन सक्ने भन्दै सुरक्षाको माग गरेपछि सुरक्षाकर्मीको संख्या बढाइएको हो। प्रदेश प्रहरीका अनुसार एमाले कार्यक्रमलाई लक्षित गरी तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको हो।

‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा ४२ वटा जातीय संगठन सलंग्न छन्। पहिचानवादीको आन्दोलनमा गत वैशाखमा पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो। पछिल्लो समय कोशी प्रदेशमा एमालेका शीर्ष नेताहरू पहिचानवादी संगठनको निसानामा पर्दै आएका छन्। पहिचानवादी संगठनका नेताकार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रदेश सांसद र केही केन्द्रीय नेतामाथि आक्रमणसमेत गरेका थिए।

१७ फागुनमा प्रदेशसभाको बहुमतले ‘कोशी’ नाम पारित गरेको थियो। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ८२ जना सांसदले कोशीका पक्षमा मतदान गरेका थिए। यसको विरोधमा पहिचानवादीले कोशी प्रदेशमा आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: २६ मंसिर २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =