पुष्पलाल मार्गमा एमाले

किरण पौडेल १३ मंसिर २०८० १३:२६
48
SHARES
पुष्पलाल मार्गमा एमाले बैतडीको झुलाघाट जाने क्रममा बुधबार धनगढी पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता। तस्बिर सौजन्य : ओलीको सचिवालय

काठमाडौँ- नेकपा एमालेले बुधबारदेखि मध्यपहाडी (पुष्पलाल) राजमार्गको यात्रा गर्दैछ। बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म १७७६ किलोमिटर सडकमा शीर्ष तहका नेता १९ दिने संकल्प यात्रामा निस्कन लागेका हुन्।

एमालेले यो अभियानलाई ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ। नेकपा स्थापनाको हीरक जयन्तीका अवसरमा राजमार्ग यात्रा तय गरिएको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए। उक्त राजमार्ग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको नाममा राखिएको हो।

मंसिर ६ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ, ‘ यो वर्ष नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्ष हो। ७५ वर्षअगाडि पुष्पलाल लगायत अग्रजहरूले निर्माण गर्नुभएको यस पार्टीको हीरक वर्ष जस्तो महत्त्पूर्ण ‘माइलस्टोन’ उहाँकै नाममा निर्माणाधीन लोकमार्गमा केन्द्रित गरेर अगाडि बढाउनु आफैँमा महत्त्वपूर्ण छ।’

नेपाल कम्युनिस्ट पार्टीले ७५ वर्षमा गरेको बलिदानी संघर्ष, खेलेको गौरवशाली भूमिका र यसका नीतिबारेमा जनस्तरमा स्पष्ट पार्ने तथा राष्ट्रका सामु उत्पन्न बहुआयामिक चुनौतीलाई सामना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण गर्न सहयोग पुर्‍याउनु अभियानको उद्देश्य रहेको एमालेले जनाएको छ।

यात्रा आरम्भ गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन्। ओली बिहीबार झुलाघाट पुग्ने कार्यक्रम छ। कार्यक्रम मंसिर १४ बाट सुरु भई पुस ५ गते सकिनेछ। पार्टीको प्रचार र विकासका लागि गर्न लागिएको यात्रामा अध्यक्ष र केही पदाधिकारी जोडिनेछन्। यात्रामा एक सयभन्दा बढीको सहभागिता रहने एमालेले जनाएको छ। सुदूरपश्चिमबाट कार्यक्रम उद्घाटन गरी पूरै देश जोड्ने भएकाले यात्रा अर्थपूर्ण रहेको एमाले नेताहरू बताउँछन्।

यात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने एमाले प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय अभियान हो। १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्नेछ। यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानसँग गर्छौँ र समृद्धिका अन्य पाटा पनि पहिचान गर्नेछौँ।’ एउटा जिल्लाको कार्यक्रममा १० हजार बढी कार्यकर्ता र समर्थक सहभागी हुने अनुमान एमालेको छ। अभियानका क्रममा क्याम्पस तथा स्कुले विद्यार्थीसँग छलफल, किसान र कृषि वैज्ञानिकसँग संवाद पनि राखिएको छ।

‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का लागि सुदूरपश्चिम पुगेका एमाले महासचिवलगायतका नेताहरू।

पहाड जैविक विविधता, कृषि, पशुपालन र जलस्रोत अनि सांस्कृतिक विविधताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण भए पनि यस भूभागबाट बसाइँ सराइ गर्ने प्रवृत्तिको वास्तविकता बोध गर्ने लक्ष्य एमालेको छ। ओलीले बुधबार बिहान ८ बजे अभियान घोषणा गर्नेछन्। यस क्रममा ओलीले बैतडीको त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेर ओलीले सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गर्नेछन्। उनले बिहान ११ बजे सदरमुकाम गोठलापानीमा राखिएको आमसभा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि अघि बढेको यात्रा साँझ बझाङको खोड्पेमा पुग्नेछ। त्यहाँ नेता-कार्यकतासँगको भेटघाटको कार्यक्रम छ।

प्रवक्ता गौतमका अनुसार मध्यहाडबाट भइरहेको तीव्र बसाइँ सराइ गर्नुको पहिचान र समाधानको खोजीका लागि यात्रा तय गरेको हो।  लोकमार्ग जाडिएका २६ जिल्लामध्ये २०७८ सालको जनगणनाअनुसार कोशी प्रदेशको उदयपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुकुम पूर्व, कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोट गरी पाँचवटा जिल्लाको जनसंख्या वृद्धिदर मात्र सकारात्मक छ।

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार कोशीका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। यसैगरी बागमतीका सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङले पनि ठूलो जनसांख्यिक क्षति व्यहोरेका छन्।

गण्डकीका गोरखा, लमजुङ, पर्वत, बागलुङ पनि जनसंख्या क्षति व्यहोरिरहेका जिल्लामा पर्छन्। यी जिल्लाको बाह्य बसाइँ सराइ दर उच्च छ। मध्यपहाडी लोकमार्गमा पर्ने कर्णाली प्रदेशको दैलेख जिल्लाको पनि जनसंख्या वृद्धिदर ऋणात्मक छ।

सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लाको जनसंख्या वृद्धिदर नकारात्मक रहेको छ।  २०७८ सालको जनगणनाअनुसार मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लामा ५७ लाख ७८ हजार ९ सय ८५ जनसंख्याको बसोबास रहेको छ। यी क्षेत्रमा प्रभाव बढाउन एमालेले यात्रा तय गर्न लागेको गौतम बताउँछन्।

जनजाति बहुल मध्यपहाडमा पछिल्ला दिनमा जातीय र पहिचानको नामको राजनीति घुसाएर सामाजिक सद्भाव बिथोल्ने अनेकन् प्रयत्न भएका छन्। कोशीमा यसको असर बढी छ। यसलाई कम गर्न पनि यात्रा गर्न लागिएको गौतम बताउँछन्।

यात्राका आचारसंहिता

यात्राका क्रममा अध्यक्ष ओलीबाहेक अन्यले सुरक्षाकर्मीको साथ लिन नपाउने आचारसंहिता बनाइएको छ। ‘कार्यकर्ता-जनताको बीचमा यात्रा गरिने भएकोले नेताहरुलाई असुरक्षाका अनुभूति नहुने र व्यवस्थापनको बोझ समेत घट्ने भएकाले निजी सुरक्षाकर्मी यात्रामा लैजाने नपाउने विधि बनाइएको छ’, गौतमले भने।

गौतमका अनुसार यात्राका लागि नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम तय गरिएको छ। जसमा एम्बुलेन्ससहितको मेडिकल टिम र सवारीसाधनमा आउने समस्या समाधान गर्ने प्राविधिक टिम साथमै हुनेछ। लामो यात्रामा कोही बिरामी भइहालेमा बिरामीलाई उपचारका लागि लैजान सहज होस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको एमालेले जनाएको छ।

प्रचार टिम र न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी हुनेछन्। यात्रामा रहेका कुनै गाडीमा समस्या आएका स्थानीय मेकानिक्सलाई बोलाउन समय लाग्ने भएकाले आफ्नो टिममा सँगै सहभागी गराउन लागिएको प्रमुख गौतमले जानकारी दिए।

आचारसंहिताअनुसार यात्राका क्रममा केन्द्रीय टोलीमा संलग्न नेताहरुले सवारीसाधनमा लाग्ने इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ। यसैगरी यात्रामा निस्कने नेताहरूले आफूले नियमित सेवन गर्ने औषधि, न्याना कपडा, स्लिपिङ ब्याग, ड्राइफुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ।

प्रमुख गौतमका अनुसार यात्राका क्रममा स्थानीयसँगका छोटा भेटघाट र गुनासो सुनुवाइ गर्ने क्रममा अध्यक्ष ओली, सुरक्षाकर्मी र केही स्वयंसेवकबाहेक अरू नेताकार्यकर्ता गाडीबाट ओर्लन पाउने छैनन्।
नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्‍याउने नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेताबाहेक अरूले मञ्चमा भीडभाड गर्न नपाउने आचारसंहिता छ। खानपिन, बोलीचाली, र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्नेछ।

यात्रामा जानेहरू जनताको दुःखसुखमा सहभागी भई स्थानीय कमिटीले गरेको व्यवस्थापनअनुरूप चल्नुपर्नेछ। यात्राको समग्र वस्तुस्थिति टिपोट गर्नुपर्ने र फोटो खिच्न उछिनपाछिन गर्न नपाइने, प्रोटोकलको पालना गर्नुपर्ने आचारसंहिता केन्द्रीय कमिटीले पास गरेको छ।

प्रमुख गौतमका अनुसार यात्रालाई अनुशासित, मर्यादित, मितव्ययी र प्रभावकारी बनाउन यात्रामा सहभागी सबै नेताहरुलाई लागू हुने गरी आचारसंहिता केन्द्रीय कमिटीबाट पास गरिएको हो।

अवरोध कायमै

एमालेको यात्रा कार्यक्रम बिथाल्न पहिचानवादीले ‘काउन्टर’ कार्यक्रम राखेका छन्। पुष्पलाल राजमार्ग पूर्वको  चियोभन्ज्याङ-गणेशचोक-जोरसल-तमोर-संक्रान्ति-म्याङलुङ-वसन्तपुर- हिले-लेघुवाघाट-भोजपुर-दिक्तेल हुँदै बागमती प्रवेश गर्छ।

केही दिनयता पहिचानवादी समूह एमाले नेताहरूमाथि आक्रामक बनेका छन्। गत आइतबार एमाले सचिव योगेश भट्टराईमाथि ताप्लेजुङमा पहिचानवादीले आक्रमण गरेका थिए। अहिले प्रदेश १ नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशमा तीन नेतालाई प्रवेश नदिने बताएको छ।

संघर्ष समितिले विज्ञप्तिमार्फत ओली, योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशमा रोक लगाएको हो। संघर्ष समितिका सदस्य प्रेम येक्तेनले कोशी खारेजी र तीन भाइले माफी नमागेसम्म प्रदेशमा प्रवेश नदिने बताएका छन्।

प्रकाशित: १३ मंसिर २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =