भूकम्प : प्रदेश अस्पताल सुर्खेतमा उपचाररत ४५ जनाको अवस्थामा सुधार

हिमाल प्रेस २३ कार्तिक २०८० १७:३२
16
SHARES
भूकम्प : प्रदेश अस्पताल सुर्खेतमा उपचाररत ४५ जनाको अवस्थामा सुधार

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरूको अवस्था सुधार रहेको जनाएको छ। अस्पतालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिएको हो।

प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ। अस्पतालले घाइतेहरूलाई वर्गीकरण गरी उपचार गरेको छ। उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आईसीयू भेन्टिलेटरमा, १ आईसीयूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पताललका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए।

अस्पतालमा जाजरकोटका भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, यस्तै कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरूको उपचार गरिएको छ। तीमध्ये १७ जना पुरुष र २८ जना महिला रहेका छन्। अस्पतालमा ५ वर्ष मुनिका ६ जना बालबालिकाको उपचार भइरहेको छ भने ५ जनाको शल्यक्रिया गरिएको छ।

निर्देशक खड्काका अनुसार घाइतेहरूको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबीसै घण्टा खटिएको जानकारी दिए। अस्पतालले भूकम्प प्रभावित क्षेत्रमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.रबिन केसी, डा. सुलभ श्रेष्ठ, हेल्थ असिस्टेन्ट डा.विकास बुढाथोकी, डा.विकास रोकाया र फार्मेसी सुपरभाइजर सुरज लुहारलाई जाजरकोटमा खटाएको थियो। सुर्खेत विमानस्थल ल्याइएका घाइतेहरूलाई अस्पतालका तीनवटा एम्बुलेन्समार्फत अस्पताल ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =