चितवन निकुञ्जको सुरक्षामा कडाइ, थपियो डुंगा गस्ती

हिमाल प्रेस २२ कार्तिक २०८० १८:५८
6
SHARES
चितवन निकुञ्जको सुरक्षामा कडाइ, थपियो डुंगा गस्ती

चितवन- चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुन सक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ। चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।

यसका लागि निकुञ्जमा डुंगा गस्तीको संख्या थप गरिएको छ। तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए। निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

‘त्यसै गरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ,’ उनले भने। निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुंगा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ। यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ। यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ। निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ।

निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ। निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन्।

पछिल्ला दिनमा जंगली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन्। जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ। वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुन सक्ने भएकाले विशेष निगरानी गरिएको हो।

प्रकाशित: २२ कार्तिक २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =