सयपत्री बेचेर नौ लाख आम्दानी

हिमाल प्रेस २२ कार्तिक २०८० १२:१३
36
SHARES
सयपत्री बेचेर नौ लाख आम्दानी

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुंगी उडीउडी गाइरहेका छन्।

पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन्। यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ।

राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन्। उनी भन्छन्, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख रुपैयाँ आम्दानी लिइसकेको छु।’

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनीले व्यावसायिक सयपत्री खेती गरेका एक वर्ष बितिसकेको छ। उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन। सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन्।

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेका थिए। बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन्। थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ।

वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनी सुनाउँछन्। सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ। तिहारमा यसको माग र मूल्य बढी हुन्छ। दर्नाले उत्पादन गरेको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौँको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ। फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उनी गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुन्छ।

अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ।

अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन्। अहिलेसम्म कसैले माग भने गरेका छैनन्। तैपनि नबिक्ने चिन्ता उहाँलाई छैन। तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ।

यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन्। आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको संख्या बाक्लिँदो छ।

उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ। सयपत्री फूलखेती गरेका हमाल भन्छन्, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ। बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ।’

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोपेको थियो। उनका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ। बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन।

फूलका थुंगा एकैनासका आर्कषक हुन्छन्। सयपत्रीको प्रतिबेर्ना तीन–पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिए। पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उनलाई पनि हौसला बढेको छ।

तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँ बढी आम्दानी हुने उनको अनुमान छ। सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन्। पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ।

अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए। यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट १५ हजार रुपैयाँ कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन्। विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकिलो चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्दछन्।

यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ। फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ। गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ।

चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ। फूल व्यवसायी बढ्दै गएका छन्।

तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन्। सयपत्री फूलको माग वर्षैभरि हुन्छ।

तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन्। रासस

प्रकाशित: २२ कार्तिक २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =