गर्व र पीडा मिसिएको म्याक्सवेलको दोहोरो शतक

हिमाल प्रेस २२ कार्तिक २०८० ७:०१
74
SHARES
गर्व र पीडा मिसिएको म्याक्सवेलको दोहोरो शतक

काठमाडौँ- विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराउँदा ग्लेन म्याक्सवेलले दोहोरो शतक बनाए। यस्तो दुलर्भ सफलता हात पार्न सकेकोमा आफूलाई गर्व महसुस भइरहेको म्याक्सवेलले बताए। तर सँगसँगै शारीरिक पीडा पनि भएको उनको भनाइ थियो।

मंगलबार अस्ट्रेलियाले अफगानिस्तानबाट २९२ रनको लक्ष्य पाएको थियो। एक बिन्दूमा अस्ट्रेलिया हारनजिक पुग्यो। किनभने अस्ट्रेलिया ९१–७ को स्थितिमा थियो। तर म्याक्सवेलले अविजित २०१ रन बनाए र अस्ट्रेलियालाई हारको मुखबाट बाहिर निकाले। यसअघि विश्वकपमा जम्मा दुई पटक मात्र दोहोरो शतक बनेका छन्।

अन्ततः अचम्मलाग्दो रन बनाए पनि अलराउन्डर म्याक्सवेलका लागि यो खेल सामान्य ढंगमा अघि बढेन। २७ रन बनाएर खेलिरहँदा उनी नुर अहमदको बलको सिकार बनेका थिए। तर पछि एलबीडब्लूको निर्णय उल्टाइयो। त्यसको केहीबेरपछि मुजिब उर रहमानले म्याक्सवेलको क्याच छाडे। त्यसबेला म्याक्सवेलले ३३ रन बनाएका थिए।

इनिङ्सको उत्तरार्द्धमा म्याक्सवेलले शारीरिक दुखाइ सहनु पर्‍यो। तर ३५ वर्षीय म्याक्सवेलले हार मान्न चाहेनन्। १२८ बल सामना गर्दा २१ चौका र १० छक्का प्रहार गरे।

‘मैले आज अविश्वसनीय जीवन जिउन पाएँ। तर ब्याटिङ गर्दा वातावरण सहज भने थिएन। फिल्डिङ गर्दा नै अत्यधिक गर्मी थियो। त्यत्तिको गर्मीमा मैले अभ्यास गरेकै थिइनँ। तर ब्याटिङ गर्दा अन्तिमसम्म टिके, गर्मीका बाबजुद,’ म्याक्सवेलले भने।

अस्ट्रेलियाको जितमा म्याक्सवेलबाहेक भरपर्दो प्रदर्शन गर्ने अर्का खेलाडी थिए, पाट कमिन्स। उनले जम्मा १२ रन मात्र बनाए। तर म्याक्सवेललाई लामो समय साथ दिए। यी दुई मिलेर २०२ बलको सामना गरेका थिए।

सात विकेट गुमाइसकेको स्थितिमा अस्ट्रेलियालाई जिताउन म्याक्सवेलले कस्तो रणनीतिमा अपनाएका थिए? ‘म बस् सकारात्मक रहन चाहन्थेँ। एलबीडब्लूपछि मेरो ब्याटिङले बलियो लय समातेको हो,’ म्याक्सवेलको भनाइ थियो।

म्याक्सवेलका लागि यो उनको एकदिवसीय करियरको चौथो शतक थियो। जारी विश्वकपमा भने उनले दोस्रो पटक शतक बनाएका हुन्। उनले नेदरल्यान्ड्सविरुद्ध शतक प्रहार गरेका थिए, मात्र ४० बलमा।

‘पाट कमिन्ससँग मिलेर शतक बनाउन सके, हामी दुई अन्तिमसम्मै नटआउट रहन सक्यौँ। म खुसी छु,’ म्याक्सवेलको भनाइ थियो।

वाङ्खेडे रंगशालामा म्याक्सवेलको ब्याटिङको मज्जा दर्शकले लिने नै भए। तर सबैभन्दा धेरै मज्जा चाहिँ कमिन्सले लिए। ‘एकदिवसीय क्रिकेटमा मैले अहिलेसम्म यत्तिको राम्रो इनिङ्स देखेकै थिइनँ। हुनसक्छ यो क्रिकेट इतिहासकै सबैभन्दा उम्दा इनिङ्स हो। यो दिन म कहिल्यै बिर्सने छैन। यो यस्तो दिन हो, जसबारे म पछि भन्नसक्छु, म्याक्सवेलले दोहोरो शतक बनाउँदा उनलाई मैले सहयोग गरेको हो,’ कमिन्सले भने।

अफगानिस्तानसँगको यो खेलका लागि म्याक्सवेल फिट होलान् कि नहोलान्, टुंगो थिएन। गत शनिबार बंगलादेशविरुद्धको खेलपछि उनी घाइते भएका थिए। तर कमिन्स भन्छिन्, म्याक्सवेल ठिक हुनेमा विश्वस्त थिए।

‘अस्ट्रेलियाबाट खेल्न उनी कति मन पराउँछन्, त्यो आज तपाईंहरुले देखिहाल्नु भयो। यो टिमबाट खेल्न उनी जे गर्न पनि तयार हुन्छन्। यसकारण मलाई थाहा थियो, उनी समयमा फिट हुनेछन्,’ कमिन्सको भनाइ थियो।

अफगानिस्तानमाथिको यो जितले अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्यायो। पाँच पटकको विजेता समूह चरणमा एक खेल्न बाँकी छँदै अन्तिमा चारमा पुगेको हो। भारतीय भूमिमा जारी विश्वकपमा अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो। पहिलो खेलमै घरेलु टिम भारतसँग पराजित अस्ट्रेलिया त्यसपछि दक्षिण अफ्रिकासँग हारेको थियो। भारत र दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा ठाउँ बनाइसकेका छन्।

‘सुरुको दुई खेलको नतिजाका कारण हामीलाई सबैले कमजोर मानेका थिए। तर त्यसपछि हामीले लगातार ६ खेल जितेका छौँ। यो लयका कारण हाम्रो वातावरण फरक बनेको छ,’ म्याक्सवेलले भने।

प्रकाशित: २२ कार्तिक २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =