इटहरीमा नाटक ‘शत्रु’

दुई दृष्टिकोणको मनोविज्ञानले निम्तिएको दुर्घटना…

विवेक विवश रेग्मी २१ कार्तिक २०८० २०:०७
136
SHARES
दुई दृष्टिकोणको मनोविज्ञानले निम्तिएको दुर्घटना…

इटहरी- नेपथ्यबाट मधूरो संगीत बजिरहेको छ। केहीबेरमै रंगकर्मीहरू मञ्चमा भेला भएका छन्। नाटक सुरु हुनुअघि करिब पाँच मिनेट कोरियोग्राफ देखाइन्छ। उक्त कोरियोग्राफले नै नाटकको सार झण्डै बुझिन्छ।

इटहरीमा तीन दिने दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८० को समापनको दिन मंगलबार साँझ नाटक शत्रु प्रस्तुत गरिएको छ। नाटकलाई तीन प्लटमा देखाइएको छ। पहिलो प्लटमा जनकुमारी आफ्नो छोरो बितेको सम्झिएर भक्कानिरहेका छन्।

उनका छिमेकी घरीघरी सम्झाउँछन्। जनकुमारीलाई सम्झाउदा उनी आफैँ भावुक बन्छन्। केहीबेरमै गाउँलेहरू जम्मा हुन्छन्। कोही जनकुमारीलाई नरुनका लागि विलौना गर्छन्, कोही सहानुभूति दिन्छन् त कोही यताउता गरिरहेका छन्।

नाटकका मुख्य पात्र कृष्ण रायलाई जनकुमारी भन्छिन्, ‘पैसा तिर्नुथियो’। तुरुन्तै कृष्ण राय भन्छन्, ‘यस्तो बेला पैसाको के कुरा ? पैसा त आवश्यकताको साधन न हो।’

दोस्रो प्लटमा भने गोरे जमदार र पण्डितबीचको विवादलाई नाटकमा चित्रण गरिएको छ। उनीहरूबीच जग्गा विवाद हुन्छ। जग्गा विवादका क्रममा ढकाल बा ले कृष्ण रायकहाँ जमदार र पण्डित दुवैलाई मिलापत्र गराउन ल्याएका छन्। तर, कृष्ण रायकै घर प्राङ्गणमा उनीहरूबीच थप विवाद हुन्छ। तर, अन्त्यमा कृष्ण रायले दुवैलाई खुसी बनाएर भोलि साँझसम्म मिलाउनेगरी सहमति गराएका छन्।

यसबेला ढकाल बालाई इङ्गित गर्दै कृष्ण राय भन्छन्, ‘तराजु बोक्नेले दुवै पट्टीका भार बोक्न सक्नुपर्छ। अनि मात्रै को सही, को गलत छुट्टिन्छ।’ तेस्रो प्लटमा भने मास्टर र कैयाँ व्यापारीबीचको विवादलाई चित्रण गरिएको छ। यहाँ कैयाँ व्यापारीबाट मास्टरले सामान बाँकी लगेका हुन्छन्। मास्टरले सामानको मूल्यभन्दा कम मूल्य भनेपछि विवाद उत्पन्न भएको हुन्छ। उक्त विवाद पनि सहजै किसिमले कृष्ण रायले मिलाउने सहमति गराउँछन्।

एक साँझ जिन्दगी सफल भयो भनेर आनन्ददायी जीवनसाथ सुत्ने तयारीमा छन्, कृष्ण राय। यसबेला भतिज गोपालले उनको मालिस गरिरहेको छ। काका भतिजबीचको छोटो संवादमै उनी निदाउँछन्। तर, निदाइरहेको समयमा उनीमाथि लट्ठी प्रहार हुन्छ।

लट्ठी प्रहारपछि ब्यूँझिएका कृष्ण राय त्यसपछि सोच्न थाल्छन् कि, कसले आँफूमाथि प्रहार गर्‍यो। जीवनमा आफूले राम्रो मात्रै गरेको बुझेका उनीमाथि प्रहार भएपछि अनेक सोच्न थाल्छन्। घरी छटपटाउँछन्, घरी छलफलका क्रममा केही बिराएँ कि भनेर सोच्न थाल्छन्। उनले आफूमाथि प्रहार भएका अनेक मानिस सम्झदैँ जाँदा जसो गरेपनि आफूसँग कतै न कतैबाट ‘शत्रु’ छन् भन्ने बुझ्छन्।

त्यसपछि उनले दिमागमा शंका मात्रै भर्छन्। जो मान्छे सम्झन्छन्, उसैलाई शंका गर्छन्। र, सबैलाई ‘शत्रु’ देख्न थाल्छन्। सबैलाई शत्रु देख्दादेख्नै निमेषभरमै नाटक समापन हुन्छ। नाटक सकिएपछि हलबाट बाहिरिएका दर्शकलाई भने उही कलाकारहरूले ढुंगा बोकेर प्रहार गर्न लागेको दृश्य अनौठो देखियो।

कतिपयले याद नगरेको दृश्य पनि हुनसक्छ कि, नाटक सुरु हुनुअघि कलाकारहरूले फूलले स्वागत गरेका थिए। तर, नाटक सकिएपछि भने दर्शक हलबाहिर निस्किदाँ बाहिर ढुंगा बोकेर बसिरहेको दृश्य देखियो। यससँगै इटहरीमा जारी अन्तरदेशीय साझा रङ्गमञ्च २०८० को समापन भएको छ।

प्रसिद्व साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको कथा शत्रुलाई नाट्य रूपान्तरण गरी कलालय इटहरीले नाटक प्रस्तुत गरेको हो। नाट्यकर्मी प्रज्वल पराजुलीको निर्देशनमा तयार भएको नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन्।

नाट्य निर्देशक प्रज्वल पराजुली भन्छन्, ‘जीवनमा फूल सोचुन्जेल फूल नै देखिन्छ, काँडा देख्न थालेपछि काँडा नै देखिन्छ। त्यही कथालाई नाटकमार्फत देखाउन खोजिएको हो।’ समाजमा सकारात्मक सन्देश दिनेभन्दा पनि बिगार्ने तत्व बढिरहेकाले त्यसलाई चिर्नका लागि पनि नाटकमार्फत चित्रण गरिएको उनको तर्क छ। ‘हामीभित्र कालो, सेतो दुवै छ। हामीले कुन दृष्टिकोणले हेछौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो। दुई दृष्टिकोणको मनोविज्ञान नै नाटक हो,’ उनले भने, ‘यससँगै हामीले नाटकको समापन गरेका छौँ, इटहरीमा तीनदिनसम्म चलेको नाटक महोत्सवमा चार नाटक प्रस्तुत भए।’

कलालय इटहरीद्वारा आयोजित दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८० को पहिलो दिन आइतबार भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए। कलालयका अध्यक्ष सोनु जयन्तीकअनुसार कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरिएको थियो।

यस्तै, सोमबार बिहान कदम थियटरको प्रस्तुतिमा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत गरिएको थियो। प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको हो।

यसैबीच आरोहण गुरुकुल विराटनगरले नेता जी प्रस्तुत गरेको छ। उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन्। मैथिली नाटकार रामभरोस कापडी ‘भ्रमर’को नाटक ‘आवैछेको’ अर्थात् नेताजी सोमबार साँझ प्रस्तुत गरिएको थियो ।

नाटक महोत्सवको अन्तिम दिन मंगलबार बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गरेको जयन्तीले बताए। यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको उनको भनाइ छ।

‘हामीले हरेक वर्ष नाटक महोत्सव गर्ने लक्ष्य लिएका थियौँ,’ उनले भने, ‘तर कोभिडका कारण बीचको केही वर्ष नाटक गर्न पाइएको थिएन। यसवर्ष दर्शकको भव्य उत्साहका कारण हामीलाई थप प्रोत्साहन मिलेको छ।’ उनले इटहरीमा नाटक गर्नका लागि थियटर अभाव रहेको र थियटर निर्माणका लागि जग्गा प्राप्त भएमा नाटकमा जीवन खोज्नेहरू जीवन्त हुने तर्क राखे।

नाटक हेरिसकेपछि प्रसिद्व कवि जसराज किरातीले सामाजमा हुनेगरेका घटनाक्रमलाई नाटकमा मिहिन ढंगले प्रस्तुत गरेको सुनाए। ‘इटहरी सहरै सहरले भरियो। सहरलाई सौन्दर्य बनाउन यो नाटक महोत्सवले थप काम गरेको अनुभूत गरेको छु,’ उनले भने, ‘नाटकलाई सम्पन्न र माथिल्लो वर्गले पनि हित चिताउनुपर्छ।

 

प्रकाशित: २१ कार्तिक २०८० २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =